काठमाडौँ / यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन दिने अवधि थप गरेको छ। अब लगानीकर्ताले बैशाख ३१ गतेसम्म हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्।
कम्पनीले चैत २६ गतेदेखि १० प्रतिशत हकप्रद शेयर निष्काशन गरेको हो। यस अनुसार १०० कित्ता शेयर बराबर १० कित्ताका दरले हकप्रद शेयर जारी गरिएको छ। कम्पनीले कुल २३ करोड १० लाख रुपैयाँ बराबरको २३ लाख १० हजार कित्ता हकप्रद शेयर निष्काशन गरेको हो।
हकप्रद शेयर निष्काशन प्रयोजनका लागि कम्पनीले फागुन १७ गते बुकक्लोज गरेको थियो। जसअनुसार फागुन १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीहरूले मात्र आवेदन दिन पाउनेछन्।
हकप्रद निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले इन्स्योरेन्सलाई इक्राएनपी इस्यूअर रेटिङ्ग ट्रिपल बी प्रदान गरेको छ। जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता मध्यम स्तरमा सुरक्षित रहेको संकेत गर्दछ।
हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकका रूपमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले लक्ष्मी सनराइज बैंकका तोकिएका शाखा, आस्वा सेवा प्रदान गर्ने बैंक तथा वित्तीय संस्थाहरू वा सीडीएस एण्ड क्लियरिङ लिमिटेडको ‘मेरो शेयर’ प्रणालीमार्फत अनलाइन आवेदन दिन सक्नेछन्।
हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ३१ करोड रुपैयाँ रहेको छ। हकप्रद शेयर बाँडफाँटपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब ५४ करोड १० लाख रुपैयाँ पुग्नेछ।
