Logo

Sep 10 2026 | २०८३, भदौ २५गते

images

एमएडब्लु समूहले भन्यो - ‘भन्सार र कर छलीसम्बन्धी आरोप तथ्यहीन र दुर्भावनापूर्ण’

एमएडब्लु समूहले भन्यो - ‘भन्सार र कर छलीसम्बन्धी आरोप तथ्यहीन र दुर्भावनापूर्ण’

अर्थ प्लस
एमएडब्लु समूहले भन्यो - ‘भन्सार र कर छलीसम्बन्धी आरोप तथ्यहीन र दुर्भावनापूर्ण’

काठमाडौँ / एमएडब्लु समूहले आफूविरुद्ध लगाइएका भन्सार छली, भ्याट छली तथा कर छलीसम्बन्धी आरोपहरू तथ्यहीन, भ्रामक र दुर्भावनापूर्ण रहेको जनाएको छ।

समूहले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दर्ता भएको उजुरी कुनै ठोस तथ्य, प्रमाण वा कानुनी आधारबिना कम्पनीको व्यापार–व्यवसायमा क्षति पुर्‍याउने उद्देश्यले दर्ता गरिएको दाबी गरेको हो।

कम्पनीले केवल उजुरीका आधारमा उद्योगी–व्यवसायीलाई दोषी ठहर गर्दै ‘मिडिया ट्रायल’ गर्नु अनुचित हुने उल्लेख गर्दै यसले व्यवसायिक वातावरणमा नकारात्मक असर पार्ने जनाएको छ।

एमएडब्लु वृद्धि कमर्सियल भेहिकल्स प्रालिले फोटोन ब्रान्डका विद्युतीय सवारीसाधन अन्तर्राष्ट्रिय मान्यताअनुसार सही एचएस कोडमार्फत आयात गर्दै आएको र आवश्यक महसुल तिरेर मात्रै भन्सार जाँचपास गरिएको दाबी गरेको छ।

विज्ञप्तिअनुसार आर्थिक वर्ष २०८०/८१ मा महालेखापरीक्षकको कार्यालयले फरक एचएस कोडमा वर्गीकरण गर्दै बेरुजु उठाएको भए पनि त्यो भन्सार छली नभई प्रशासनिक बेरुजु मात्रै भएको कम्पनीको भनाइ छ।

उक्त विषयमा सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको र अदालतले भन्सार कार्यालयको पत्र कार्यान्वयन नगर्न अन्तरिम आदेशसमेत जारी गरिसकेको कम्पनीले जनाएको छ।

न्यायालयमा मुद्दा विचाराधीन रहेको अवस्थामा फौजदारी आरोप लगाउनु न्यायिक प्रक्रियामाथिको हस्तक्षेप भएको दाबी कम्पनीको छ।

त्यसैगरी मोरङ अटो वर्क्ससँग सम्बन्धित भ्याट छलीको आरोपबारे कम्पनीले आन्तरिक राजस्व विभाग तथा ठूला करदाता कार्यालयले निर्धारण गरेको कर, ब्याज र जरिवाना पूर्ण रूपमा बुझाइसकिएको र कुनै दायित्व बाँकी नरहेको स्पष्ट पारेको छ।

एमएडब्लु समूहले आफू नेपालको अग्रणी अटोमोबाइल तथा व्यापारिक समूह भएको उल्लेख गर्दै कानुनअनुसार सम्पूर्ण कर दायित्व नियमित रूपमा तिर्दै आएको जनाएको छ। 

कम्पनीका अनुसार आर्थिक वर्ष २०८१/८२ मा मात्रै ११ अर्ब रुपैयाँभन्दा बढी राजस्व राज्यलाई बुझाइएको छ भने देशभर ५ हजारभन्दा बढीलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी प्रदान गरिएको छ।

सम्बन्धित समाचार