काठमाडौँ / सरकारले गैरआवासीय नेपाली (एनआरएनए)लाई नेपालका धितोपत्र बजारमा सहभागी गराउने भएको छ ।
साथै विदेशी लगानीकर्ता तथा बहुराष्ट्रिय कम्पनीलाई नेपालमा दीर्घकालीन रूपमा भवन वा अपार्टमेन्ट लिजमा लिन पाउने कानुनी व्यवस्था गर्ने घोषणा गरिएको छ ।
आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गैरआवासीय नेपालीलाई धितोपत्र बजारमा आकर्षित गर्न कानुनी तथा नीतिगत सुधार गरिने बताएका हुन् ।
उनका अनुसार विदेशी लगानी स्वीकृति, लेखाङ्कन, नाफा फिर्ता तथा पुँजीगत लाभकरसम्बन्धी कानुनी व्यवस्था परिमार्जन गरिनेछ ।
साथै, नेपालमा लगानी गर्ने विदेशी लगानीकर्ता, अन्तर्राष्ट्रिय संघ–संस्था तथा बहुराष्ट्रिय कम्पनीका शाखालाई आवास क्षेत्रका भवन वा सरकारले तोकेको स्थानमा अपार्टमेन्ट दीर्घकालीन रूपमा लिजमा लिन सक्ने व्यवस्था गरिनेछ ।
सरकारले यस्तो व्यवस्था कुल इकाइको २५ प्रतिशतभन्दा नबढ्ने गरी लागू गर्ने जनाएको छ ।
अर्थमन्त्री वाग्लेले वैदेशिक लगानी आकर्षित गर्न सरकारले विशेष नीति अख्तियार गरेको पनि बताए । उनका अनुसार विदेशी लगानी संरक्षण तथा दोहोरो कर मुक्ति सम्झौता (डीटीएए) विस्तार गर्ने सरकारको योजना रहेको छ ।
