काठमाडौँ / नेपाल बैंक लिमिटेड र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटि प्रा.लि. बीच विशेष छुट सुविधा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ।
सम्झौताअनुसार नेपाल बैंकमा खाता रहेका ग्राहक, बैंकका कर्मचारी तथा कर्मचारीका परिवारका सदस्यहरूले सिद्धार्थ बिजनेस ग्रुप अन्तर्गत देशभर सञ्चालित २५ वटा होटल, रिसोर्ट, रेस्टुरेन्ट तथा क्याफेबाट प्राप्त हुने विभिन्न सेवामा १० प्रतिशतदेखि २५ प्रतिशतसम्म छुट पाउनेछन्।
सम्झौतापत्रमा २०८३ जेठ २८ गते नेपाल बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत दीपेन्द्र राज काफ्ले र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटिका व्यवसाय प्रबन्ध निर्देशक दुर्गा दत्त पन्त ले हस्ताक्षर गरेका हुन्।
बैंकका अनुसार उक्त सुविधा सातै प्रदेशमा रहेका सिद्धार्थ ग्रुपका होटल, रिसोर्ट, रेस्टुरेन्ट तथा क्याफेहरूमा लागू हुनेछ। यसबाट बैंकका ग्राहक तथा कर्मचारीहरूले आतिथ्य सेवामा विशेष लाभ लिन सक्ने विश्वास गरिएको छ।
हाल नेपाल बैंकले देशभर २३१ शाखा, २४६ एटीएम र ६१ एक्सटेन्सन काउन्टरमार्फत करिब २७ लाख ग्राहकलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ। बैंकले आधुनिक बैंकिङ प्रविधि, दक्ष व्यवस्थापन तथा गुणस्तरीय ग्राहक सेवामार्फत आफ्नो सेवा विस्तारलाई निरन्तरता दिइरहेको जनाएको छ।
