Logo

Sep 10 2026 | २०८३, भदौ २५गते

images

राष्ट्र बैंकले आज १५ अर्बको एक वर्षे ऋणपत्र जारी गर्दै

राष्ट्र बैंकले आज १५ अर्बको एक वर्षे ऋणपत्र जारी गर्दै

अर्थ प्लस
राष्ट्र बैंकले आज १५ अर्बको एक वर्षे ऋणपत्र जारी गर्दै

काठमाडौँ । नेपाल राष्ट्र बैंकले १५ अर्ब रुपैयाँ बराबरको एक वर्षे ऋणपत्र जारी गर्ने भएको छ । बैंकले असार ३० गते (आज अपराहन्न ३ बजे) अनलाइन बोलकबोल प्रणालीमार्फत ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ ‘ज ’ जारी गर्न लागेको हो ।

राष्ट्र बैंकका अनुसार ऋणपत्रको अवधि एक वर्ष रहनेछ भने यसको साँवा २०८४ असार ३० गते फिर्ता गरिनेछ । ब्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण हुनेछ र ब्याज भुक्तानी अर्धवार्षिक रूपमा गरिने व्यवस्था गरिएको छ ।

यस ऋणपत्रका लागि न्यूनतम ५ करोड रुपैयाँदेखि बढीमा ५ करोडले भाग गर्दा नि: शेष भाग जाने गरी कुल आह्वान रकमसम्म गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन् । बोलकबोलमा प्रस्ताव गरिएको ब्याजदरका आधारमा ऋणपत्र बाँडफाँट गरिनेछ भने समान ब्याजदर प्रस्ताव भएमा समानुपातिक आधारमा बाँडफाँट गरिने व्यवस्था छ ।

राष्ट्र बैंकले स्वीकृत बोल रकम स्वीकार वा अस्वीकार गर्ने अधिकार खुला बजार कारोबार सञ्चालन समितिमा रहने जनाएको छ । साथै, स्वीकृत रकम निकासा मितिमा सम्बन्धित संस्थाको खाताबाट कट्टा गरिने र खातामा पर्याप्त मौज्दात नभएमा जरिवानासहित छ महिनासम्म खुला बजार कारोबारमा सहभागी हुन नपाइने व्यवस्था पनि गरिएको छ ।

राष्ट्र बैंकका अनुसार उक्त ऋणपत्र वैधानिक तरलता अनुपात गणनामा प्रयोग गर्न सकिनेछ, तर अनिवार्य नगद मौज्दातमा भने गणना गरिने छैन ।

सम्बन्धित समाचार