काठमाडौँ / सुपर खुदी हाइड्रोपावर लिमिटेडको सामूहिक लगानी कोष (म्युचुअल फण्ड) का लागि छुट्याइएको ७७ हजार ५०० कित्ता साधारण सेयरको ‘लक–इन’ अवधि आगामी भदौ १६ गते समाप्त हुने भएको छ ।
कम्पनीले सार्वजनिक निष्कासनअन्तर्गत सामूहिक लगानी कोषका लागि कुल ५ प्रतिशत सेयर छुट्याएको थियो । २०८० फागुन १७ गते बाँडफाँड गरिएको उक्त सेयरको लक–इन अवधि बाँडफाँड भएको मितिले ६ महिना कायम गरिएको थियो ।
लक–इन अवधि सकिएपछि भदौ १७ गतेदेखि उक्त ७७ हजार ५०० कित्ता सेयर दोस्रो बजारमा कारोबारका लागि योग्य हुने कम्पनीले जनाएको छ । यी सेयरको अंकित मूल्यका आधारमा कुल मूल्य ७७ लाख ५० हजार रुपैयाँ बराबर रहेको छ ।
नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार कम्पनीले लक–इन अवधि समाप्त हुनेसम्बन्धी जानकारी नेपाल स्टक एक्सचेन्ज, सीडीएस एण्ड क्लियरिङ, विद्युत नियमन आयोग र मुक्तिनाथ क्यापिटललाई गराएको जनाएको छ ।
कम्पनीले यससम्बन्धी सूचना २०८१ साउन १३ गते ‘सौर्य दैनिक’ राष्ट्रिय दैनिकमा समेत प्रकाशित गर्ने जनाएको छ ।
