काठमाडौँ / कुमारी बैंक लिमिटेडले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई नवजात शिशु तथा बालबालिकाको सघन उपचार सेवा सुदृढीकरणका लागि १० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर)अन्तर्गत प्रदान गरेको उक्त रकम हृदय रोगबाट पीडित नवजात शिशु तथा बालबालिकाको उपचारका लागि आवश्यक स्वास्थ्य सेवा तथा उपकरण व्यवस्थापनमा प्रयोग गरिने जनाएको छ ।
नेपाल सरकारअन्तर्गत सञ्चालित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र देशकै प्रमुख विशिष्टीकृत हृदय रोग उपचार केन्द्रमध्ये एक हो ।
केन्द्रले देशका विभिन्न दुर्गम तथा पिछडिएका क्षेत्रबाट उपचारका लागि आउने आर्थिक रूपमा विपन्न, सीमान्तकृत तथा जोखिममा रहेका नवजात शिशु तथा बालबालिकालाई विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।
बढ्दो बिरामीको चाप तथा सघन उपचार सेवाको आवश्यकतालाई ध्यानमा राखेर सहयोग गरिएको बैंकले जनाएको छ । सहयोगबाट नवजात शिशु तथा बालबालिकाको उपचार सेवाको गुणस्तर सुधार, जीवनरक्षा दर वृद्धि तथा स्वास्थ्य सेवामा रहेको असमानता न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा बैंकको छ ।
कुमारी बैंकले स्वास्थ्य सेवा प्रत्येक नागरिकको आधारभूत अधिकार भएको मान्यता राख्दै आर्थिक तथा सामाजिक रूपमा पछाडि परेका वर्गको स्वास्थ्य सेवामा पहुँच विस्तारका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।
‘समुदायका लागि कुमारी बैंक’ भन्ने मूल भावनाअनुसार बैंकले शिक्षा, स्वास्थ्य, वित्तीय साक्षरता, वातावरण संरक्षण तथा सामुदायिक विकासका क्षेत्रमा सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
बैंकका अनुसार २५ वर्षदेखि बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकका देशभर २८५ शाखा, ४१ विस्तारित काउन्टर, ३०२ एटीएम र ४० शाखारहित बैंकिङ इकाइ सञ्चालनमा छन् ।
बैंकले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वअन्तर्गतका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।
