काठमाडौँ / कुमारी बैंक लिमिटेड Partnership for Carbon Accounting Financials (PCAF) मा आबद्ध भएको छ । PCAF मा आबद्ध हुँदै बैंकले जिम्मेवार बैंकिङ, जलवायु कार्य तथा आफ्ना वित्तीय गतिविधिबाट हरितगृह ग्यास उत्सर्जनलाई बुझ्ने तथा व्यवस्थापन गर्ने विषयमा थप पारदर्शिताप्रतिको प्रतिबद्धता जनाएको छ ।
PCAF को सदस्य बनेसँगै कुमारी बैंकले आफ्ना ऋण तथा लगानीबाट हुने हरितगृह ग्यास उत्सर्जनको मापन तथा सार्वजनिक रूपमा प्रकाशन गर्न PCAF का विश्वव्यापी रूपमा मान्यता प्राप्त मापदण्ड तथा विधिहरू प्रयोग गर्ने जनाएको छ । यस पहलले बैंकको जलवायुसम्बन्धी तथ्याङ्क, जोखिम व्यवस्थापन तथा दिगो वित्तसम्बन्धी अभ्यासलाई थप सुदृढ बनाउन सहयोग पुग्ने बैंकको भनाइ छ ।
न्यून–कार्बन तथा जलवायु-उत्थानशील अर्थतन्त्रतर्फको संक्रमणमा वित्तीय क्षेत्रको महत्वपूर्ण भूमिका हुने भन्दै बैंकले PCAF मा आबद्ध भएर आफ्ना लगानी गतिविधिको जलवायु प्रभाव बुझ्ने क्षमता अभिवृद्धि गर्ने जनाएको छ । यसबाट प्राप्त जानकारीलाई भविष्यका वित्तीय निर्णय, जोखिम व्यवस्थापन तथा दिगोपनासम्बन्धी पहलमा उपयोग गर्ने लक्ष्य बैंकले राखेको छ ।
PCAF वित्तीय संस्थाहरूको विश्वव्यापी सहकार्य हो, जसले ऋण तथा लगानीमार्फत हरितगृह ग्यास उत्सर्जनको एकरूप मूल्यांकन तथा खुलासा गर्न सहजीकरण गर्छ । यसको विश्वव्यापी सञ्जालले वित्तीय संस्थाहरूलाई वित्तीय लगानीसँग सम्बन्धित उत्सर्जन मापन तथा जलवायु सम्बन्धी पारदर्शिता सुधार गर्न साझा ढाँचा प्रदान गर्दै आएको छ ।
कुमारी बैंकका लागि PCAF को सदस्य बन्नु दिगोपनसम्बन्धी यात्रामा महत्वपूर्ण प्रगति भएको बैंकले जनाएको छ । यसले बैंकको व्यवसाय तथा वित्तीय गतिविधिमा वातावरणीय पक्षलाई समावेश गर्ने प्रतिबद्धतालाई प्रतिबिम्बित गर्ने बैंकको भनाइ छ ।
कुमारी बैंक लिमिटेडका सस्टेनेबल बैंकिङ विभागका प्रमुख अर्पण पौडेलले PCAF मा आबद्ध हुनु बैंकको दिगोपन यात्राको महत्वपूर्ण कोशेढुङ्गा भएको बताएका छन् ।
उनका अनुसार वित्तीय गतिविधिसँग सम्बन्धित उत्सर्जनलाई बुझ्दा जलवायु रणनीति सुदृढ गर्न, पारदर्शिता बढाउन र उत्थानशील तथा दिगो अर्थतन्त्रतर्फ अघि बढ्न तथ्य र जानकारीमा आधारित परिपक्व निर्णय लिन सहयोग पुग्नेछ ।
बैंकले दिगो वित्तका अवसरहरू विस्तार गर्ने, आफ्ना सञ्चालन तथा वित्तीय गतिविधिमा वातावरणीय तथा जलवायु सम्बन्धी पक्षलाई थप एकीकृत गर्ने र नेपालको दीर्घकालीन जलवायु तथा विकास प्राथमिकतामा योगदान पुर्याउन सरोकारवालासँग सहकार्य गर्ने जनाएको छ ।
देशभर व्यापक उपस्थिति रहेको कुमारी बैंकले लक्षित समुदायमा दिगो वित्तीय पहललाई विस्तार तथा प्रभावकारी रूपमा कार्यान्वयन गर्न आफ्नो स्थापित बैंकिङ सञ्जालको उपयोग गर्ने जनाएको छ ।
बैंकसँग २७९ शाखा, २८६ एटीएम, ४१ एक्सटेन्सन काउन्टर, ४० शाखारहित बैंकिङ इकाइ तथा १,२२३ POS टर्मिनलहरू रहेका छन् । साथै, बैंकले डिजिटल बैंकिङ प्लेटफर्म, मोबाइल बैंकिङ तथा अन्तर्राष्ट्रिय Visa कार्ड सेवासमेत उपलब्ध गराउँदै आएको छ ।
ग्राहककेन्द्रित नवप्रवर्तन, जिम्मेवार बैंकिङ तथा दिगो वित्तमा केन्द्रित हुँदै कुमारी बैंकले नेपालको दीर्घकालीन आर्थिक रूपान्तरणमा आफ्नो भूमिका थप सुदृढ गर्दै आएको जनाएको छ ।
बैंकले आफ्ना उत्पादन, जनशक्ति तथा रणनीतिक साझेदारीमार्फत दिगोपनप्रतिको प्रतिबद्धतालाई निरन्तरता दिँदै देशव्यापी पहुँचको उपयोग गरी समावेशी तथा जिम्मेवार वित्तीय समाधान प्रवर्द्धन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
Partnership for Carbon Accounting Financials (PCAF) सन् २०१९ को सेप्टेम्बरमा विश्वव्यापी रूपमा स्थापना भएको हो । हाल ७०० भन्दा बढी वित्तीय संस्थाहरू PCAF पहलमा आबद्ध भइसकेका छन् ।
PCAF मा सहभागी वित्तीय संस्थाहरूले संयुक्त रूपमा वित्तीय क्षेत्रका लागि Global GHG Accounting and Reporting Standard विकास तथा कार्यान्वयन गर्दै आफ्ना ऋण तथा लगानीमार्फत हुने हरितगृह ग्यास उत्सर्जनको मापन तथा खुलासा गर्ने कार्य गर्छन् ।
