Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

भोटेकोशी बाढी : चीनमा फसेका ५३६ नेपाली नेपाल फर्किए

भोटेकोशी बाढी : चीनमा फसेका ५३६ नेपाली नेपाल फर्किए

अर्थ प्लस
भोटेकोशी बाढी : चीनमा फसेका ५३६ नेपाली नेपाल फर्किए

काठमाडौं । रसुवाको भोटेकोशीमा भदौ १० गते आएको विनाशकारी बाढीका कारण चीनमा फसेका नेपाली नागरिकहरू क्रमशः नेपाल फर्किन थालेका छन्।

परराष्ट्र मन्त्रालयका अनुसार हालसम्म तातोपानी नाकाबाट ५३६ जना नेपाली नेपाल फर्किसकेका छन्। थप १०६ जना नेपाली आज नेपाल फर्किने क्रममा रहेको मन्त्रालयले जनाएको छ।

बाढीबाट प्रभावित भई नेपाल फर्कन चाहने नेपाली नागरिकहरूको सुरक्षित स्वदेश फिर्तीका लागि मन्त्रालयले चिनियाँ अधिकारीहरूसँग निरन्तर समन्वय गरिरहेको जनाएको छ।

मन्त्रालयका अनुसार हालसम्म ३०० भन्दा बढी विदेशी नागरिकसहित १३ हजार ३९६ जनाको उद्धार गरिएको छ। पछिल्लो चार दिनमा मात्रै चार जनाको जीवितै उद्धार गरिएको छ। माथिल्लो त्रिशूली–३ ‘ए’ को सुरुङबाट दुई नेपाली, त्रिशूली–१ को सुरुङबाट एक चिनियाँ नागरिक तथा बेत्रावतीस्थित एक घरबाट एक नेपालीको जीवितै उद्धार गरिएको मन्त्रालयले जनाएको छ।

यद्यपि, बाढी प्रभावित क्षेत्रमा अझै ठूलो संख्यामा मानिस बेपत्ता छन्। मन्त्रालयका अनुसार ३५ देशका करिब ६०० विदेशी नागरिकसहित करिब पाँच हजार जना अझै बेपत्ता छन्। बाढी प्रभावित क्षेत्रबाट हालसम्म १ हजार ३५५ वटा शव फेला परिसकेका छन्।

प्रभावकारी खोज, उद्धार तथा राहतका लागि स्वदेशी तथा विदेशी विशेषज्ञ टोली परिचालन गरिएको छ। प्रधानमन्त्री बालेन्द्र शाह र परराष्ट्रमन्त्री शिशिर खनालले अन्तर्राष्ट्रिय समुदायसँग आवश्यक समन्वय गरिरहेका छन्।

यसै क्रममा माल्दिभ्सकी विदेशमन्त्री इरुथिशाम आदमले आज परराष्ट्रमन्त्री खनालसँग टेलिफोन वार्ता गर्दै सहयोग तथा समन्वयका विषयमा छलफल गरेकी छन्।

भारत, चीन र कोरिया गणतन्त्रका सुरुङ उद्धार टोलीले नेपाली सेनासँगको समन्वयमा खोज तथा उद्धार कार्य जारी राखेका छन्। संयुक्त अरब इमिरेट्स र मलेसियाका टोलीसमेत उद्धार अभियानमा परिचालित छन्।

माथिल्लो त्रिशूली–१, माथिल्लो त्रिशूली–३ ‘ए’, माथिल्लो त्रिशूली–३ ‘बी’, चिलिमे, रसुवागढी र लाङटाङलगायत प्रभावित जलविद्युत् आयोजनामा खोज तथा उद्धारका लागि थप उपकरण तथा प्राविधिक जनशक्ति परिचालन गर्न लागिएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले उच्च क्षमताका ड्रोन, लिडार, बेली ब्रिज, महामारी नियन्त्रण सामग्री, डीएनए परीक्षण किट, उच्च क्षमताका सर्ज पम्प, प्रयोगशाला फ्रिजर तथा हिलो र सुरुङ उद्धारका लागि आवश्यक विशेष पोसाकलगायत सामग्री उपलब्ध गराउन अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरेको छ।

भारत, चीन, जापान, सिङ्गापुर र कोरिया गणतन्त्रका फरेन्सिक टोलीसमेत डीएनए संकलन, विश्लेषण तथा शव पहिचान कार्यमा संलग्न छन्।

परराष्ट्र मन्त्रालयले नेपालले उपलब्ध सबै स्रोतसाधन परिचालन गरिरहेको जनाएको छ। तर विपद्को आकार र जटिलता ठूलो भएकाले खोज, उद्धार, राहत तथा पुनःस्थापनाका लागि अन्तर्राष्ट्रिय सहयोग र एकजुटता निरन्तर आवश्यक रहेको मन्त्रालयको भनाइ छ।

मन्त्रालयका अनुसार भारत, चीन, संयुक्त अरब इमिरेट्स, बेलायत, जापान, अमेरिका, कतार, सिङ्गापुर, दक्षिण कोरिया, अस्ट्रेलियालगायत विभिन्न देश तथा युरोपेली संघ, एसियाली विकास बैंक, विश्व बैंक र संयुक्त राष्ट्रसंघबाट समेत सहयोग प्राप्त भइरहेको छ।

सम्बन्धित समाचार