काठमाडौँ / एम.भी. दुगड ग्रुपका अध्यक्ष मोतीलाल दुगडले रसुवा जिल्लाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढी र पहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ११ लाख रुपैयाँ सहयोग गरेका छन्।
एम.भी. दुगड ग्रुप तथा ग्रुपको अटोमोबाइल्स डिभिजनमा कार्यरत कर्मचारीहरूको स्वेच्छिक आर्थिक सहयोगसमेत गरी कुल १ करोड ११ लाख रुपैयाँ बराबरको चेक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने प्रयोजनका लागि आज अर्थमन्त्रीलाई हस्तान्तरण गरिएको हो।
उक्त चेक ग्रुपका अध्यक्ष मोतीलाल दुगड, उपाध्यक्ष विवेक दुगड तथा सञ्चालक शुभम दुगडले अर्थमन्त्रीलाई हस्तान्तरण गरेका हुन्।
ग्रुपले २०८३ साल भदौ १० गते रसुवा जिल्लाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढी र पहिरोबाट भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै विपद्मा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली तथा शोकाकुल परिवारप्रति समवेदना व्यक्त गरेको छ। साथै, बेपत्ता व्यक्तिको सकुशल उद्धार तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
प्रभावित तथा विस्थापित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका लागि नेपाल सरकार, सुरक्षा निकाय, स्थानीय तह तथा विभिन्न संघसंस्थाले गरिरहेको प्रयासप्रति पनि ग्रुपले सम्मान व्यक्त गरेको छ।
पीडित नागरिकलाई तत्काल राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले रकम प्रदान गरिएको ग्रुपले जनाएको छ। विपद्को सामना गर्न नेपाल सरकारसँग हातेमालो गर्दै मानवीय सहयोग तथा सामाजिक उत्तरदायित्व निर्वाह गर्न ग्रुप प्रतिबद्ध रहेको जनाएको छ।
यसैबीच, जलवायु परिवर्तन तथा ग्लोबल वार्मिङका कारण यस्ता विनाशकारी विपद् बढिरहेको विज्ञहरूको मत रहेको सन्दर्भमा ग्रुपले २०७८ सालदेखि देशव्यापी रूपमा वृक्षारोपण कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।
ग्रुपका अनुसार हालसम्म वन क्षेत्रमा ३ लाखभन्दा बढी बोटबिरुवा तथा ६ किलोमिटरभन्दा लामो राजमार्ग खण्ड, विभिन्न विद्यालय, प्रहरी कार्यालय र सशस्त्र प्रहरी कार्यालय परिसरमा २५ हजारभन्दा बढी उन्नत जातका फलफूलसहितका बिरुवा रोपेर संरक्षण गरिएको छ। ग्लोबल वार्मिङको असर कम गराउने उद्देश्यले सञ्चालन गरिएको उक्त कार्यक्रमलाई भविष्यमा पनि उच्च प्राथमिकताका साथ निरन्तरता दिने ग्रुपले जनाएको छ।
