Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

ऋण नतिर्ने ऋणीमाथि कर्जा असुलीका प्रक्रिया अवलम्बन गरे बैंकका कर्मचारी पक्राउ, गृह मन्त्रालयले जारी गर्याे परिपत्र

ऋण नतिर्ने ऋणीमाथि कर्जा असुलीका प्रक्रिया अवलम्बन गरे बैंकका कर्मचारी पक्राउ, गृह मन्त्रालयले जारी गर्याे परिपत्र

अर्थ प्लस
ऋण नतिर्ने ऋणीमाथि कर्जा असुलीका प्रक्रिया अवलम्बन गरे बैंकका कर्मचारी पक्राउ, गृह मन्त्रालयले जारी गर्याे परिपत्र

काठमाडौं। गृह मन्त्रालयले भदौ १८ गते सबै जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाई दुर्गा प्रसाईं नेतृत्वको "राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔं महाअभियान"सँग सरकारले गरेको सहमतिपत्रको बुँदा नं. ८ कार्यान्वयन गर्न निर्देशन दिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्रसाथ प्राप्त मन्त्रिपरिषद् बैठकको निर्णयबमोजिम यो निर्देशन जारी भएको हो।

पत्रमा उल्लेख भएको बुँदा नं. ८ अनुसार ऋण असुलीका क्रममा यातना दिने, घरबाट जिन्सी सामान उठाएर लैजाने, किस्ता नतिरेसम्म संस्थाका कर्मचारी घरमै बसेर धरपकड, गाली-बेइज्जती तथा दुर्व्यवहार गरेमा पीडितले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन सक्नेछन् र प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाइनेछ।

यो व्यवस्था कार्यान्वयनमा ल्याइएसँगै वित्तीय क्षेत्रका विश्लेषकहरूले यसले निक्षेपकर्ता, सरकार र लगानीकर्तामाथि ठूलाे प्रभाव पर्ने बताएका छन्।

बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने ऋण संस्थाकै पुँजी नभई सर्वसाधारण निक्षेपकर्ताले बचत तथा मुद्दती खातामार्फत जम्मा गरेको रकम हो। बैंकले ऋणीबाट उठाउने साँवा-ब्याजबाटै निक्षेपकर्तालाई ब्याज भुक्तानी र सावा फिर्ता गर्ने गर्छ। ऋण प्रवाहका बेला नै ऋणी र संस्थाबीच ब्याजदर, किस्ता तिर्ने अवधि, धितो लगायतका सर्त तोकिएको सम्झौता हुने र ऋणीले सो सर्त स्वीकार गरेरै हस्ताक्षर गर्ने गरेको विश्लेषकहरूको भनाइ छ। सर्त मन्जुर नभए ऋण नलिने विकल्प रहेको र ऋण लिइसकेपछि तिर्ने पालोमा प्रक्रियागत अवरोध खडा हुँदा त्यसको प्रत्यक्ष असर संस्थामा भन्दा बढी सम्बन्धित निक्षेपकर्तामाथि पर्ने उनीहरूको तर्क छ।

796831871_38589073850676774_4211619874087122205_n-1788668376.jpg
 

खराब कर्जा (नन्-परफर्मिङ लोन) बढ्दा बैंक तथा वित्तीय संस्थाको नाफा घट्ने, जसका कारण निक्षेपकर्तालाई दिइने ब्याजदरमा असर पर्न सक्ने र गम्भीर अवस्थामा निक्षेप फिर्ता प्रक्रियामा समेत समस्या देखा पर्न सक्ने विश्लेषकहरूको भनाइ छ। साथै बैंकको नाफा घट्दा सरकारले प्राप्त गर्ने आयकरमा समेत कमी आउने र बैंकिङ क्षेत्र मुलुककै प्रमुख करदाता समूहमध्ये रहेको उनीहरूले औंल्याएका छन्। यसैगरी बैंक तथा वित्तीय संस्थाका शेयरधनी र लगानीकर्ताले पाउने प्रतिफल र लाभांशमा समेत यसको असर पर्ने देखिन्छ।

दुर्गा प्रसाईं नेतृत्वको उक्त अभियानले गत केही महिनायता लघुवित्त लगायत वित्तीय क्षेत्र तथा ऋण असुली प्रक्रियाविरुद्ध लगातार आन्दोलन गर्दै आएको थियो, जसक्रममा सरकारसँग पटक-पटक सहमति भएको थियाे।हालको यो निर्देशन सोही सहमतिको कार्यान्वयनको निरन्तरता हो।

यस क्षेत्रका जानकारहरूले वित्तीय अनुशासन र निक्षेपकर्ताको हितभन्दा राजनीतिक दबाबलाई प्राथमिकता दिइएको आरोप लगाइरहेका छन्। 

सम्बन्धित समाचार