काठमाडौँ / एनसेलले भोटेकोशी नदीमा आएको बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्यलाई सहज बनाउन स्याटलाइट प्रविधिमा आधारित इन्टरनेट सेवा उपलब्ध गराउन थालेको छ। आपत्कालीन अवस्थामा समेत सञ्चार सेवा अवरुद्ध नहोस् भन्ने उद्देश्यले कम्पनीले प्रभावित क्षेत्रमा यस्तो सेवा सञ्चालनमा ल्याएको हो।
एनसेलले युटेलस्याटको लो अर्थ अर्बिट (एलईओ) स्याटलाइटबाट सञ्चालित उपकरणहरू उद्धार, राहत तथा पुनर्स्थापना कार्यमा संलग्न सरकारी निकायसँग समन्वय गरी पहिचान गरिएका महत्त्वपूर्ण र आवश्यक स्थानमा जडान गरिरहेको जनाएको छ। सञ्चार सञ्जाल अवरुद्ध भएको अवस्थामा समेत यो प्रविधिमार्फत स्याटलाइटबाट इन्टरनेट सेवा उपलब्ध हुनेछ।
बाढी प्रभावित समुदाय, होल्डिङ सेन्टर तथा राहत वितरण केन्द्र, अस्थायी शिविर र आपत्कालीन कार्य हुने स्थानमा हाल निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराइनेछ। हालसम्म नुवाकोटका तीन महत्त्वपूर्ण स्थानमा यो सेवा उपलब्ध गराइएको छ भने बाढी प्रभावित अन्य स्थानमा जडान कार्य जारी रहेको एनसेलले जनाएको छ।
यस प्रविधिमा जमिनमा जडान गरिएको उपकरणले स्याटलाइटबाट इन्टरनेट सिग्नल प्राप्त गर्छ। त्यसपछि उक्त उपकरणले वरपरका क्षेत्रमा अर्को उपकरणमार्फत वाईफाई सेवा उपलब्ध गराउँछ। साधारण इन्टरनेट तथा मोबाइल सेवा उपलब्ध नभएको अवस्थामा समेत यस प्रविधिले इन्टरनेट सेवा प्रदान गर्नेछ।
एनसेलका अनुसार स्याटलाइट प्रविधिले उच्च गति र लो लेटेन्सी कनेक्टिभिटी प्रदान गर्छ। यसबाट मानिसहरूले सन्देश आदानप्रदान, इन्टरनेटमा आधारित कल, महत्त्वपूर्ण जानकारी प्राप्त गर्न, ब्राउजिङ गर्न तथा राहत कार्यको समन्वय गर्न सक्नेछन्।
एनसेलले उक्त सेवाका लागि नेपाल दूरसञ्चार प्राधिकरणलगायत सरकारी निकायबाट आवश्यक स्वीकृति प्राप्त गरिसकेको जनाएको छ।
एनसेलका प्रमुख कर्पोरेट तथा नियामक अधिकृत डिल्ली राम श्रेष्ठले सडक पूर्वाधार र सञ्चार सेवा गम्भीर रूपमा प्रभावित भएको नुवाकोटका तीन स्थानमा स्याटलाइट सञ्चार पहुँच स्थापना गरिएको बताए।
“यसले उद्धार तथा राहत कार्यलाई सहज बनाउनुका साथै प्रभावित स्थानीयवासीलाई यो कठिन समयमा सम्पर्कमा रहन मद्दत गर्नेछ,” श्रेष्ठले भने।
एनसेलले बाढी प्रभावित क्षेत्रका ३ लाखभन्दा बढी प्रभावित ग्राहकलाई पहिलो दिनदेखि नै हरेक दिन निःशुल्क भ्वाइस, डाटा र एसएमएस सेवा प्रदान गर्दै आएको जनाएको छ। त्यस्तै, एनसेल फाउन्डेसनमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उद्धार, राहत तथा पुनर्स्थापना कार्यका लागि १ करोड रुपैयाँ आर्थिक सहयोग गरेको छ।
आपत्कालीन अवस्थामा एक–अर्कासँग सम्पर्कमा रहनु अत्यावश्यक हुने भन्दै एनसेलले सञ्चार सेवा अवरुद्ध भएको अवस्थामा सबैलाई सम्पर्कमा राख्न सम्भव उपाय खोजिरहेको जनाएको छ।
सडक अवरुद्ध र फाइबर क्षतिग्रस्त हुँदा सूचना तथा सञ्चारको पहुँच थप कठिन हुने भएकाले आपत्कालीन अवस्थामा कनेक्टिभिटी सुविधा मात्र नभई लाइफलाइनसरह हुने एनसेलको भनाइ छ। सबैभन्दा बढी आवश्यक परेका प्रभावित समुदायका लागि यो लाइफलाइन खुला राख्न कम्पनी प्रतिबद्ध रहेको जनाएको छ।
