Logo

Oct 27 2026 | २०८३, कात्तिक ११गते

images

दसैँको अवधिमा देशभर सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु

दसैँको अवधिमा देशभर सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु

अर्थ प्लस
दसैँको अवधिमा देशभर सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु

काठमाडौँ । यस वर्षको दसैँका अवधिमा देशभर भएका १ हजार ३३९ सवारी दुर्घटनामा परी १२४ जनाको मृत्यु भएको छ भने २ हजार ९८८ जना घाइते भएका छन् ।

असोज २५ देखि कात्तिक ८ गतेसम्म भएका दुर्घटनामा ८३ पुरुष, ३९ महिला, ७ बालक र ५ बालिकाको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ । घाइतेमध्ये ४३७ जना गम्भीर र २ हजार ५५१ जना सामान्य घाइते भएका छन् ।

प्रदेशगत विवरणअनुसार कोशीमा ३९७, काठमाडौँ उपत्यकामा १७१, कर्णालीमा १७१, लुम्बिनीमा १६१, सुदूरपश्चिममा १५०, बागमतीमा ११२, गण्डकीमा ९७ र मधेशमा ८० दुर्घटना भएका छन्। दुर्घटनामा १ हजार ५५२ मोटरसाइकल, ३३७ जिप तथा कार, २०७ टेम्पो, ७१ ट्रक तथा ट्याङ्कर, ६४ माइक्रोबस, ५४ बस, ३८ ट्याक्टर, १५ टिपर, १० डोजर, स्काभेटर तथा लोडर र १३३ अन्य सवारीसाधन गरी कुल २ हजार ४८१ सवारीसाधन संलग्न थिए। गत वर्षको दसैँमा १ हजार ४९२ सवारी दुर्घटना भएका थिए।

दसैँ अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने ५ हजार ७०३ सवारीसाधनलाई कारबाही गरिएको छ। तीमध्ये मादक पदार्थ सेवन गरी सवारी चलाउने २ हजार ७९४, क्षमताभन्दा बढी यात्रु राख्ने १ हजार ८८२, तीव्र गतिमा चलाउने ७४६, यान्त्रिक परीक्षणसम्बन्धी नियम उल्लङ्घन गर्ने ८८, छतमा यात्रु राख्ने ७३, बढी भाडा असुल्ने ५८ र लागूपदार्थ सेवन गरी चलाउने ५३ सवारीसाधन छन्। लामो दूरीका सवारीसाधनमा दुई चालक भए–नभएको जाँचसम्बन्धी नियम उल्लङ्घन गर्ने ९ सवारीसाधनलाई पनि कारबाही गरिएको प्रहरीले जनाएको छ।

नेपाल प्रहरीले दसैँमा देशभर ४०८ यात्रु सहायता कक्ष र अन्तर्राष्ट्रिय सीमा नाकाका १०८ स्थानमा सहायता कक्ष स्थापना गरेको थियो। चालकको अनुमतिपत्र, मादक तथा लागूपदार्थ सेवन, यात्रुको सङ्ख्या र सवारीसाधनको यान्त्रिक अवस्था जाँच गरिएको प्रहरीले जनाएको छ ।

त्यस्तै, आगामी दीपावली, नेपाल संवत् र छठ पर्वलाई लक्षित गरी दुर्घटना न्यूनीकरणका लागि थप सुरक्षा योजना लागू गरिएको छ। प्रहरीले ट्राफिक नियम उल्लङ्घन भएको देखेमा प्रहरीको १०० वा १०३ नम्बरमा खबर गर्न आग्रह गरेको छ ।

सम्बन्धित समाचार