काठमाडौँ, जेठ १२ । यो साता धितोपत्र बजारको सूचक र कारोबार दुबैमा उल्लेख्य सुधार आएको छ । यो साता धितोपत्रको कारोबार जम्मा चार दिन मात्र भएको छ । एक दिन सार्वजनिक विदा परेकाले कारोबार भएन ।
यो साता चार दिन कारोबार भएकोमा चार दिननै कारोबार बढेको छ । अघिल्लो साता २ हजार १८.७६ को विन्दुमा बन्द भएको बजार यो साता २ हजार १३१.४९ विन्दुमा बन्द भएको छ । यसरी हेर्दा यो साता शेयर बजार ११२.७३ अंकले बढेको छ। अघिल्लो साता भने शेयर बजार ५२.५३ अंकले बढेको थियो । यसलाई आधार मान्ने हो भने दुई सातामा नै बजार १६५.२६ अंकले बढेको छ ।
नेप्सेका अनुसार गत साता ४ करोड ४० लाख २६ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएकोमा यो साता ५ करोड ४२ लाख ७२ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको छ ।
यो साता ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स ६.७८ प्रतिशत बढेर ३८२.६७ विन्दुमा पुगेको छ ।
नेपाल स्टक एक्सचेञ्ज(नेप्से) का अनुसार लामो सयमदेखि घटेको बजारमा यो साता २१.९९ अर्ब रुपैयाँको कारोबार भएको छ । तर अघिल्लो साता भने १८.५९ अर्ब रुपैयाँबराबरको कारोबार भएको थियो । यस आधारमा तुलना गर्ने हो भने दोस्रो बजारमा नेप्से सूचक र कारोबार दुबै बढेको देखिन्छ ।
यसैगरी, यो साता धितोपत्रको बजार पूँजीकरण ३३ खर्ब १८ अर्ब रुपैयाँ पुगेको छ । अघिल्लो साता बजार पूँजीकरण ३२.१८ खर्ब रुपैयाँ थियो । यो साताभर बजार बढेका कारण धितोपत्र बजारको पूँजीकरण पनि १ खर्ब ६१ अर्ब रुपैयाँले बढेको छ ।
बजार बढ्दा यो साता नेप्से उपसमूहमा रहेका १३ वटै समूह बढेका छन्। सर्वाधिक बढोत्तरी भने बैंकिङ समूह छ । यो साता बैंकिङ समूह १३.४४ प्रतिशतले बढेको छ।
पछिल्लो केही दिनदेखि वाणिज्य बैंकको शेयरमा लगानीकर्ताको आकर्षण बढेको छ ।लगानीकर्ता केशव दाहाल बैंकिङ समूहका शेयर खरिदमा लगानीकर्ता आकर्षित हुनुको पछाडि शेयरमूल्य न्यून हुन नै प्रमुख कारण रहेको बताउँछन् । उनी यो आकर्षणले अब लगानीकर्ताहरु बैंकिङ समूहको शेयरमा दिर्घकालिन लगानी गर्न इच्छुक रहेको पुष्टि हुने बताउँछन् ।
अझ पछिल्लो समयलाई हेर्ने हो भने पनि आईपीओ निष्कासनभएको कम्पनीभन्दा पनि सस्तो मूल्यमा अहिले वाणिज्य बैंकको शेयरमूल्य रहेको अवस्था छ ।
वित्तीय प्रणालीमा पर्याप्त तरलता रहेको अवस्था छ । निक्षेपको ब्याजदर पनि घटेको छ । यसका अतिरिक्त ब्रोकर कमिसन पनि घटेको कारण बजारमा सकारात्मक माहोल सृजना भएको छ ।
हालै मात्र नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामार्फत् बैंकले प्राथमिक पूँजीको २० प्रतिशतसम्म शेयर बिक्री गर्न पाउने व्यवस्था गरेका कारण बैंकको नाफा बढ्ने अपेक्षामा लगानीकर्ता उत्साहित बनेको अवस्था छ ।यो व्यवस्थाले बैंकहरूलाई विभिन्न कम्पनीका शेयरमा लगानी गरी थप नाफा लिनका लागि प्रोत्साहन गर्दछ ।
केन्द्रीय बैंकको पछिल्लो कदमले बैंकिङ प्रणालीमा थुप्रिएर रहेको रकम शेयर बजारमा आउने आकलनपछि लगानीकर्ताहरु थप हौसलाका साथ धितोपत्र बजारमा पस्न थालेको एक लगानीकर्ताले बताए ।
