मुस्ताङ। नेपाल-चीन उत्तरी कोरला नाका हुँदै आइतबारसम्म तीन हजार ७२५ मेट्रिकटन फलफूल चीनतर्फबाट आयात भएको छ। गत भदौ २० गतेदेखि कोरला नाकाबाट चिनियाँ फलफूलजन्य मालवस्तु नेपाल भित्रिन थालेको हो।
यो नाकाबाट हालसम्म ११ किसिमका फलफूल चीनबाट नेपालतर्फ भित्रिएका कोरला नाकास्थित लोमान्थाङ ४ न्हेचुङमा रहेको क्वारेन्टाइन कार्यालयले जानकारी दिएको छ। रसुवाको भोटेकोशीमा आएको बाढीपछि रसुवा-केरुङ नाका भदौ १० गतेपछि पूर्ण रुपमा बन्द हुनुका साथै सिन्धुपाल्चोकको तातो पानी नाका लामो समयदेखि बन्द छ।
ठूलो परिमाणमा चीनियाँ मालवस्तु नेपाल भित्रिने गरेकामा यी दुवै नाका बन्द हुँदा कोरला नाकाबाट चिनियाँ फलफूल नेपालतर्फ आयात हुन थालेको हो। रसुवागढी र तातोपानी नाका पूर्ण रुपमा बन्द भएपछिको करिब दुई महिनाको अवधिमा चीनतर्फबाट फलफूल आयातको परिमाण बढ्दै जान थालेको क्वारेन्टाइन कार्यालयका प्राविधिक सहायक बन्दना घर्तीमगरले जानकारी दिए। दसैँ-तिहार र छठपर्वलाई लक्षित गरी कोरला नाकाबाट चिनियाँ फलफूल नेपालतर्फ आयात भइरहेको उनको भनाइ छ।
घर्ती मगरका अनुसार चीनबाट स्याउ, ड्रागन फ्रुट, नासपाती, आँप, अङ्गुर, किसमिसलगायत फलफूल कोरलानाका हुँदै नेपाल भित्रिएको छ। अन्य फलफूलजन्य खाद्य पदार्थमा फर्सीको बीउ, लसुन र फापर नेपाल भित्रिएको उनले जानकारी दिए। करिब दुई महिनाको अवधिमा चाडपर्व लक्षित सबैभन्दा बढी बोक्रा भएको ओखर र स्याउ नेपाल भित्रिएको उनको भनाइ छ।
यसअघि रसुवागढी नाकाबाट मार्ग परिवर्तन भई कोरला नाकाबाट भित्रिएका फलफूलजन्य पदार्थ ढुवानी गर्न गत असोज ११ गतेको बाढीपहिरो र नदी कटानले दुई साता बढी बेनी-जोमसोम सडक अवरुद्ध हुँदा समस्या परेको थियो। नाकाबाट भित्रिएका फलफूलको क्वारेन्टाइन परीक्षण तथा भन्सार जाँचपास भइसक्दासमेत गन्तव्यमा पुग्न सकेको थिएनन्। व्यवसायीद्वारा आयात गरिएको एक कन्टेनर ड्रागन फ्रुट बिग्रन थालेपछि मुस्ताङका स्थानीयलाई निःशुल्क वितरण गरिएको थियो।
