काठमाडौं । भक्तपुरको मध्यपुर थिमि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरे ३३ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घिमिरेसँगै काठमाडौंको कोटेश्वरस्थित गुड नेबर्स इन्टरप्राइजेज प्रालिका सञ्चालक वरुण ढुंगेललाई पनि नियन्त्रणमा लिएको छ ।
अख्तियारका अनुसार ठेक्का सम्झौताअनुसार बाँकी रहेको मोबिलाइजेसन फण्डको किस्ता भुक्तानीमा सहजीकरण गरिदिने तथा ठेक्काअन्तर्गतका बाँकी काम अघि बढाउन सहयोग गर्ने भन्दै प्रमुख प्रशासकीय अधिकृत घिमिरेले सेवाग्राहीसँग घुस मागेको सूचना प्राप्त भएको थियो ।
सोही सूचनाका आधारमा अख्तियारको टंगालस्थित कार्यालयबाट खटिएको टोलीले दुवै जनालाई ३३ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरेको हो ।
उनीहरूलाई कात्तिक १६ गते सोमबार भक्तपुरको मध्यपुर थिमि नगरपालिका–९, निकोसेराबाट नियन्त्रणमा लिइएको आयोगले जनाएको छ । पक्राउ परेका दुवै जनालाई कात्तिक १७ गते विशेष अदालतको आदेशबाट घुस (रिसवत) भ्रष्टाचारसम्बन्धी मुद्दामा म्याद थप गरिएको छ ।
अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
