काठमाडौं, जेठ १७ । सिटिजन्स बैंकले आफ्ना ग्राहकहरुसँगको संलग्नतालाई बढाउन पार्टनर प्रोग्रेस (#partnerforprogress) नामक फेसवुक भिडियो प्रतियोगिताको आयोजना गरेको छ ।
कम्पनीले व्यक्तिगत वा व्यावसायिक रूपमा प्रगतिमा साथ दिने र जीवनमा सकारात्मक परिवर्तन ल्याउन योगदान पुर्याउने व्यक्ति वा संघ संस्थालाई सबै माझ चिनाउने र सम्मान गर्ने उद्देश्यले यस्तो खालको प्रतियोगिताको आयोजना गरेको बताएको छ ।
कम्पनीले एक भिडियो बनाई जीवनमा सकारात्मक परिवर्तन ल्याउन एक पार्टनरको भूमिका कत्तिको महत्वपूर्ण रहन्छ त भन्ने कुरालाई प्रस्ट्याउन खोजेको छ ।
एक आम व्यक्तिको वास्तविक जीवनको सफलताको कथा अरुलाई प्रेरणाको स्रोत बन्न सक्ने र यस्तो भिडियो प्रतियोगिताले धेरैलाई प्रेरित गर्ने विश्वास छ ।
आफ्नो प्रेरणादायक कथाहरूलाई छोटो मोवाइल भिडियो वा फेसवुक रिलको रुप दिएर प्रतियोगितामा समावेश हुन सकिन्छ । एक मिनेटसम्मको समयावधि भएको भिडियो बनाएर (#partnerforprogress) सहित फेसबुकमा भिडियो अपलोड गरि सिटिजन्स बैंकको फेसबुक पेजलाई ट्याग गर्नुपर्नेछ साथै सो भिडियो पव्लिक हुनुपर्नेछ ।
प्रतियोगितामा उत्कृष्ट हुने प्रथम, द्वितीय र तृतीय भिडियोलाई सम्मान स्वरूप नगद पुरस्कार क्रमश : ५० हजार, ३० हजार र २० हजार रुपैयाँ प्रदान गरिने कम्पनीले बताएको छ । उक्त प्रतियोगिता जेठ महिनाभर सञ्चालन हुनेछ ।
कम्पनीले देशैभरी रहेका आफ्ना १९० वटा शाखा, १५३ वटा एटीएम र ९८ वटा शाखा रहित बैंकिङ्ग इकाईहरुबाट १७ लाख ४२ हजार ग्राहकलाई बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
हाल ५५ जिल्लामा सेवा प्रदान गर्दै आएको कम्पनीले यसै आर्थिक वर्ष थप ७ शाखाहरु विस्तार गरेर आगामी दिनमा देशको ६० वटा जिल्लामा सेवा प्रदान गर्ने योजना रहेको बताएको छ ।
