काठमाडौं, जेठ १८ । नेपाल धितोपत्र बोर्डले शर्त पुरा गर्ने कम्पनीहरुलाई प्राथमिक शेयर तथा हकप्रद शेयर निष्काश गर्न अनुमति दिने भएको छ।
विभिन्न नियमाकीय तथा संसदीय समितिले दिएको निर्देशनको परिधिभित्र रहेर 'पाइपलाइन' मा रहेका कम्पनीलाई आईपीओ र हकप्रदको अनुमति दिन लागिएको स्रोतले जनाएको छ।
"आईपीओ र हकप्रदको पर्खाईमा बसेका कम्पनी थपिदै जाँदा शेयर बजारमा केहि समस्या देखिएको महसुस गरेका छौँ" ,स्रोतले भन्यो, "अहिलेलाई शर्त पालना गर्ने कम्पनीलाई आईपीओ र हकप्रद अनुमति दिने तयारी हो।"
स्रोतकाअनुसार विभिन्न समयमा संसदीय लेखा तथा अर्थसमिति, अख्तियार र अर्थमन्त्रालयले दिएको निर्देशन भित्र रहेर पाइपलाइनमा रहेका कम्पनीलाई आईपीओ र हकप्रदको अनुमति केहि दिनमा दिईनेछ।
आईपीओको हकमा प्रतिकित्ता १०० रुपैयाँ तोकिएका तथा हकप्रदको हकमा नेटवर्थ ९० रुपैयाँभन्दा बढी भएका पाइपलाइनमा भएका कम्पनीलाई अनुमति दिने जनाइएको छ।
धितोपत्र बोर्डको वेबसाइट आईपीओको पाइपलाइनमा रहेका कम्पनीको संख्या करिब ३५ र हकप्रदको पाइपलाइनमा भएका कम्पनीको संख्या करिब १३ छन्। तर आईपीओ तथा हकप्रदको अनुमति रोकिएसंगै प्रस्तावित कम्पनी दर्ता गरीएपनि वेबसाइटमा नदेखाइएकाले पर्खाईमा रहेका कम्पनीको वास्तविक संख्या झन्डै सय हाराहारी भएको बोर्ड स्रोतले जनाएको छ।
