Logo

Sep 11 2026 | २०८३, भदौ २६गते

images

नेपालको फिनटेक पूर्वाधार अन्तरराष्ट्रिय रूपमा बलियो छ : गभर्नर अधिकारी

नेपालको फिनटेक पूर्वाधार अन्तरराष्ट्रिय रूपमा बलियो छ : गभर्नर अधिकारी

अर्थ प्लस
नेपालको फिनटेक पूर्वाधार अन्तरराष्ट्रिय रूपमा बलियो छ : गभर्नर अधिकारी

काठमाडौँ, जेठ  २२ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको फिनटेक पूर्वाधार कमजोर नरहेको बताएका छन् ।

सोमबार नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) र नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स) को एकीकृत कारोबार उद्घाटनको अवसरमा गर्दै गभर्नर अधिकारीले यक्त कुरा बताएका हुन् । उनले धेरै अन्तरराष्ट्रिय फिनटेक फेस्टिभलमा सहभागी हुँदा नेपालको फिनटेक प्रडक्ट अन्तरराष्ट्रिय रूपमा कमजोर नरहेको पाएको बताए ।

‘नेपालको फिनटेक पूर्वाधारमा स्रोत, साधन र जनशक्ति कुनैमा कमी छैन,’ उनले भने, ‘अहिले क्रसबोर्डर भुक्तानीको काम गर्दै गर्दा फिनटेक प्रडक्ट हाम्रो लेभलमा ल्याउन अरूलाई मिहिनेत गर्नुपर्ने अवस्था छ ।’

यो पूर्वाधार बनाउन राष्ट्र बैंकको भूमिका वातावरण बनाइदिने मात्रै भएको र यसमा फिनटेक क्षेत्रमा काम गर्नेको नै योगदान रहेको उनले बताए ।

यसैगरी, उनले धेरैजसो साइबर ठगी ग्राहकको कमजोरीका कारण हुने गरेको बताएका छन् ।उनले सेवा प्रदायक संस्थाका कमजोरीभन्दा पनि ग्राहकको कमजोरीका कारण ठगीका घटना हुने गरेको पाइएको बताए ।

संस्थागत रूपमा भएका कमी कमजोरी राष्ट्र बैंकले जारी गरेको नीति निर्देशनका कारण र उक्त निर्देशन कार्यान्वयन नहुँदा हुने कारबाहीले गर्दा सुधार गर्न सकिने उनको भनाइ छ ।

ग्राहकबाट हुने कमी कमजोरीबाट हुने ठगी नियन्त्रण गर्नु चुनौतीपूर्ण भएको उनले बताए ।‘डिजिटल फाइनान्सियल सर्भिसको चुनौती साक्षरताको कमी हो । त्यसकारण साक्षरता बढाउने जरुरी छ,’ उनले भने, ‘त्यसका लागि सबै बैंक तथा वित्तीय संस्था फिनटेक कम्पनी र राष्ट्र बैंक समेत समावेश हुने गरी डिजिटल लिटरेसी फ्रेमवर्क तयार भइसकेको छ । डिजिटल वित्तीय साक्षरता बढाउन जरुरी छ ।’

दिगो हुन भुक्तानी सम्बन्धी कार्य गर्ने कम्पनीको मर्जर आवश्यक रहेको उनले बताए । एनसीएचएल र नेप्सको मर्जरका लागि नभई सिनर्जीका लागि भएको उनको दाबी छ ।

‘राष्ट्र बैंकले मर्जरको नीति त्यत्तिकै ल्याएको होइन । पेमेन्ट सिस्टमभित्र १० वटा भुक्तानी प्रणाली सञ्चालक र २७ वटा भुक्तानी सेवा प्रदायक छन् । यति धेरै संस्था हुँदा दिगो हुन कति गाह्रो भइरहेको छ, त्यो हेरिरहेका छौं,’ उनले भने, ‘सीमित संख्याका संस्था मात्रै सस्टेन गर्ने अवस्थामा छन् ।दिगो र स्वस्थ प्रतिस्पर्धाका लागि पनि एकीकरण आवश्यक छ ।’

एकीकृत कारोबारपश्चात् कम्पनीको नाम नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल) कायम भएको छ । यसैगरी,  कम्पनीको प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा साविक एनसीएचएलका सीईओ नीलेशमान सिंह प्रधान बनेका छन् ।

नेप्सलाई प्राप्तिपश्चात् कम्पनीको चुक्तापूँजी १ अर्ब ७ करोड रुपैयाँ पुगेको छ भने जगेडा कोष १ अर्ब ४५ करोड रुपैयाँ पुगेको कम्पनीले बताएको छ । मर्जरपछि कम्पनीमा कर्मचारीको संख्या १३२ जना, प्रडक्ट ९ वटा, सदस्य बैंक तथा वित्तीय संस्था ५३ वटा, अन्य सदस्य १०० बढी पुगेका छन् । 

 

सम्बन्धित समाचार