काठमाडौँ, साउन १० । चार वर्षदेखि आन्तरिक गृहकार्यमा रहेका ब्रोकर कम्पनीहरुले आफ्नै ट्रेड म्यानेजमेन्ट सिस्टम(टीएमएस) सञ्चालनमा ल्याउने अन्तिम तयारी गरेका छन्। शुरुवातदेखि नै नेपाल स्टक एक्सचेन्ज(नेप्से) को टीएमएसबाट सेवा दिइरहेका ती ब्रोकर कम्पनीहरुले अहिले आफ्नै टीएमएसको परीक्षणपछि कारोबार गर्ने अन्तिम तयारी गरिरहेका छन् ।
अहिले ३६ नम्बर ब्रोकर सेक्युर्ड सेक्युरेटिजले आन्तरिक रुपमै परीक्षणको अन्तिम तयारि गरिरहेको छ । यो परीक्षण अन्तर्गत अहिले ब्रोकर कम्पनीहरुबीच सीमित रुपमा कारोबार भइरहेको छ ।
ब्रोकर एशोसिएशनका पूर्व अध्यक्ष सन्तोष मैनालीले अहिले आन्तरिक परीक्षणको अन्तिम तयारी रहेको र भदौको पहिलो साताबाट यो सुविधा आम ब्रोकर सदस्यलाई उपलब्ध गराउने बताए । उनले भने,‘ अहिले प्राविधिक परीक्षण भइरहेको छ र यसमा देखिने समस्या,राफसाफदेखि अन्य विभिन्न फिचर्सको परीक्षणलाई अध्ययन गरिरहेका छौं,भोलिका दिनमा आम लगानीकर्तामा पुगेपछि गुनासो आउने ठाउँ पनि नहोस् भन्ने अपेक्षा छ ।’
उनका अनुसार ब्रोकरले ल्याउने टीएमएसका लागि मोबाइल एप प्रयोग गरेर सजिलो तरिकाले शेयर खरिदबिक्री गर्न सकिन्छ । यसमा टीएमएस प्रविधि एडभान्स र सुविधायुक्त हुन्छ, जसमा लगानीकर्ताहरुले सजिलै खरिदबिक्री गर्न सक्नेछन् ।
सेक्युर्ड सेक्युरेटिजले श्रीलंकाको आइरन वान टेक्नोलोजीले विकास गरेको टीएमएस प्रयोगमा ल्याएको छ। यसका साथै ३३ नम्बर ब्रोकर कम्पनीले डीजीहब कम्पनीले विकास गरेको टीएमएस खरिद गर्ने तयारी गरिरहेको छ ।
त्यस्तै ब्रोकर नम्बर ५८ नाशा सेक्युरेटिज, ४३ नम्बर ब्रोकर साउथ एशियन बुल्सले आगामी दशैंभित्र आफ्नै टीएमएस सञ्चालनमा ल्याउने तयारी गरिरहेका छन् । नासाले भने भारतको डीओन ग्लोबल सोलुसनले बनाएको टीएमएस एस्ट्रिक टेक्नोलोजीमार्फत खरिद गरेर सञ्चालमा ल्याउने तयारी गरेको बताएको छ ।
नयाँ ब्रोकरको तयारी के छ त ?
गत आर्थिक वर्षबाट कारोबारमा आएका ४० वटा ब्रोकर कम्पनीको नयाँ टीएमएस चलाउने हालसम्म कुनै तयारी छैन । नयाँ ब्रोकरहरुले अहिले पनि नेप्सेले दिएको टीएमएसबाट कारोबार सञ्चालन गरिरहेका छन् । नयाँ ब्रोकर कम्पनी र पुराना ब्रोकर कम्पनी बीच कारोबारमा प्रतिस्पर्धा बढेपछि पुराना ब्रोकरहरु अब नयाँ अवधारणसहितको सुविधासम्पन्न सिस्टमबाट लगानीकर्ताहरुलाई आकर्षित गर्न केन्द्रित छन्।
पुराना कम्पनीलाई विस्थापित गर्न र लगानीकर्तालाई आकर्षित गर्न केन्द्रित हुनुपर्ने नयाँ ब्रोकर कम्पनीहरुको छुट्टै खालको बाध्यता छ । यसबारे न्यू ब्रोकर एशोसिएशनका अध्यक्ष सागर ढकालले अहिले नयाँ ब्रोकरहरुले आफ्नै टीएमएस तत्काल ल्याउने सम्भावना नभएको बताए । उनले भने,‘ अहिले तत्काल सञ्चालनमा ल्याउने सम्भावना छैन,पहिला पुराना साथीहरुको अभ्यासलाई हेरेर अनि अघि बढ्छौं ।’
शेयर बजारमा चलखेल हुने सम्भावना कति ?
कतिपय लगानीकर्ताहरुलाई लाग्न सक्छ, ब्रोकरहरुले आफ्नै टीएमएस सञ्चालनमा ल्याएपछि शेयर बजारमा भित्री कारोबार (इन्साइडर ट्रेडिङ) हुने हो कि भन्ने आशंका पनि छ । तर नेपाल शेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डेले सबै ब्रोकर कम्पनीहरुबाट नयाँ टीएमएस आउनु लगानीकर्ताका लागि सुखद भए पनि सचेततना अपनाउनु उत्तिकै जरुरि रहेको बताउँछन् । उनले भने,‘ नेप्सेकै अनुगमनमा रहने हुँदा डराइहाल्नुपर्ने अवस्था त छैन तर पनि नयाँ प्रविधि भएकाले लगानीकर्ता चाहिं अलिकति चनाखो हुनैपर्छ ।’
उता नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले ब्रोकरहरुको आफ्नै टीएमएस हुँदैमा भित्री कारोबार हुन्छ भन्नु गलत हुने बताउँछन् । उनले भने,‘ सबै ब्रोकरहरु नेप्सेकै माताहतमा रहेर कनेक्सन हुने हो,उनीहरुले चलाउने सिस्टमलाई नेप्सेको टेक्निकल टिमले अध्ययन गरेपछि मात्र अनुमति दिन्छ, त्यसमा डराउनुपर्ने कुरा हुन्न ।’
उनका अनुसार यो भनेको कम्पनीहरुले आफ्ना सदस्यहरुलाई दिने नयाँ प्रविधिको फिचर मात्र हो । त्यसमा कम्पनीहरुले लगानी अनुसार एडभान्स प्रविधिको टीएमएस ल्याएर चलाउन सक्छन्, त्यसको एक महिनादेखिको प्राविधिक परीक्षण,भौतिक संरचना, स्थलगत परीक्षण सबै भएपछि बल्ल अनुमति दिएको हुन्छ । उनले भने,‘ हामीले दिने भनेको एउटै मापदण्डको टीएमएस हो,अर्थात् सरकारी गाडी चढ्ने कि आफ्नै नयाँ मोडलको गाडी खरिद गरेर चढ्ने भन्ने भन्या जस्तै हो । त्यो गाडिको गेयर र ब्रेक भने नेप्सेको हातमा हुन्छ ।’
आफ्नै टीएमएसबाट ब्रोकरको मासिक १० हजार बचत
नेप्सेको टीएमएस प्रयोगगरेबापत ब्रोकर कम्पनीहरुको अब आफ्नै टीएमएस कार्यान्वयनमा आएपछि बचत बढ्नेछ । हाल ब्रोकर कम्पनीले नेप्सेको टीएमएस प्रयोग गर्दा मासिक रुपमा २५ हजार रुपैयाँ शुल्क बुझाउँदै आएका छन् । तर, नयाँ टीएमएसको मासिक शुल्क ब्रोकर कम्पनीलाई औसतमा करिब १५ हजार रुपैयाँजति पर्न आउने पराजुलीले बताउँछन् ।
ब्रोकरको टीएमएस र नेप्सेको टीएमएसमा फरक के छ ?
ब्रोकरले ल्याउने नयाँ टीएमएसमा कोल्याट्रल धितोराखेपछि बाँकी रहेको कोल्याट्रल शेयर खरिदपछि सही रूपमा देखिन्छ । हालको टीएमएसमार्फत ग्राहकले कारोबारका लागि कोल्याट्रल लोड त गर्न सक्छन् तर कोल्याट्रलको विवरण सही रुपमा देखिंदैन । उता नयाँ टीएमएसमा चाहिं चार्ट हेरेर धितोपत्र खरिदबिक्रीको रणनीति पनि बनाउन सक्ने व्यवस्था छ ।
नयाँ टीएमएसमार्फत ग्राहकले आफूले गरेको कारोबार विवरण, भुक्तानी लिन तथा दिन बाँकी रकमको हिसाबकिताब सही रुपमा हेर्न सक्छन् ।अहिलेको नेप्सेको टीएमएसमा लगानीकर्तालाई राफसाफको विवरण ब्रोकर कम्पनीसँगै माग्नुपर्ने बाध्यता छ । तर नयाँ टीएमएसमा स्टप लस, टेक प्रोफिट, हाई फ्रिक्वेन्सी ट्रेडिङ जस्ता आदेश व्यवस्थापनलगायतका विशेषताहरु रहेकालले शेयर कारोबार निकै सहज हुने मैनाली बताउँछन् ।
