Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

कर्पोरेट कर १५ प्रतिशतमा झार्ने ट्रम्पको दाबी, इतिहासकै ठूलो कर कटौति गर्ने

कर्पोरेट कर १५ प्रतिशतमा झार्ने ट्रम्पको दाबी, इतिहासकै ठूलो कर कटौति गर्ने

अर्थ प्लस
कर्पोरेट कर १५ प्रतिशतमा झार्ने ट्रम्पको दाबी, इतिहासकै ठूलो कर कटौति गर्ने

काठमाडौं, कात्तिक २३ । अमेरिकामा भर्खरै राष्ट्रपति निर्वाचन जितेका डोनाल्ड ट्रम्पले ‘इतिहासकै सबैभन्दा ठूलो कर कटौति’ गर्ने घोषणा गरेका छन् । उनले अमेरिकामा वस्तु उत्पादन गर्ने उद्योगहरुलाई अहिले लाग्दै आएको २१ प्रतिशत कर्पोरेट कर घटाएर १५ प्रतिशतमा झार्ने प्रतिबद्धता जनाएका छन् ।

साथै, अतिरिक्त समय (ओभर टाइम) काम गर्दा कर तिर्न नपर्ने, बक्सिस (टिप्स) र बृद्धबृद्धाले पायउने सामाजिक सुरक्षा लाभहरुमा पनि कर नलाग्ने व्यवस्था गर्ने प्रतिबद्धता उनले जनाएका छन् । बुबाआमाको हेरचाहका लागि धरालो (केयरगिभर) राख्दा कर समायोजना गर्न पाइने व्यवस्थाको पनि उनले उद्घोष गरेका छन् ।

उनले सन् २०१७ मा लागू गरेको नीतिलाई नै अघि बढाउँदै यस्ता कर कटौति योजनाहरु कार्यान्वयन गर्ने दाबी गरेका छन् । तर यसबाट सिर्जना हुने राजस्वको खाडल कसरी भरिन्छ भन्ने उनले स्पष्ट पारेका छैनन् । यद्यपि, यसअघि देखि नै उनी घरेलु स्तरमा कर कटौति गर्ने र आयातमा कर बढाएर त्यो खाडल भर्ने अभिव्यक्ति दिँदै आएका छन् ।

यसबाट मूलतः चिनियाँ उत्पादनहरु अब अमेरिकी बजारमा छिर्न पहिलेभन्दा ज्यादा कर तिर्नुपर्ने अवस्था आउन सक्छ । अमेरिकाले सर्वाधिक वस्तु आयात गर्ने चीन, मेक्सिको र क्यानडाबाट हो । त्यसपछि जापान, जर्मनी, भियतनाम, दक्षिण कोरिया र भारतबाट अधिक मात्रामा वस्तु आयात गर्दै आएको छ ।

ऊर्जाको मूल्य आधा कटौति गर्ने प्रतिबद्धता
ट्रम्पले आगामी जनवरी २० (माघ ७)मा राष्ट्रपतिको सपथ लिएको एक वर्षभित्र ऊर्जाको मूल्य ५० प्रतिशत घटाउने प्रतिबद्धता जनाएका छन् । उनले विजय भाषणमा भने, ‘हामीसँग संसारको कुनै पनि देशको तुलनामा अधिक तरल सुन (अर्थात्), तेल र ग्यास छ । साउदी अरबभन्दा पनि धेरै, रूसभन्दा पनि धेरै ।’

उनले घरेलु ऊर्जा उत्पादन बढाउने र अमेरिकी प्राकृतिक ग्यासमा लगाइएको सीमा हटाउने प्रतिबद्धता जनाएका छन् । ‘ड्रिल, बेबी, ड्रिल’ नारा दोहोराउँदै उनले अमेरिकामा जीवाश्म इन्धनको उत्पादन बढाउने प्रतिबद्धता जनाएका छन् ।

अमेरिकामा ‘ग्रीन न्यू डिल’ भनिने पर्यावरणीय अनुदानहरु दिने योजनालाई ‘महान हरित घोषणा’ (ग्रेट ग्रीन स्क्याम) भन्दै आएका छन् । विजय भाषणमा पनि उनले यस प्रकारको योजनालाई अन्त्य गर्ने बताएका छन् । तर यस पल्ट ट्रम्पको सारथी झैँ खडा भएका विश्वकै सर्वाधिक धनि एलन मस्क जलवायु परिवर्तन र हरित गतिविधी प्रबद्र्धनको पक्षमा उभिएका छन् ।

तै पनि ट्रम्प विद्युतीय सवारीलाई दिइएको विशेष सुविधाहरुको अन्त्य गर्ने र वायु ऊर्जामा भएको लगानीलाई पनि अघि नबढाउने सोचमा देखिएका छन् ।

सम्बन्धित समाचार