Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

वीरगञ्जको सुक्खा बन्दरगाहबाट राजस्व सङ्कलन २० करोडले घट्यो

वीरगञ्जको सुक्खा बन्दरगाहबाट राजस्व सङ्कलन २० करोडले घट्यो

अर्थ प्लस
वीरगञ्जको सुक्खा बन्दरगाहबाट राजस्व सङ्कलन २० करोडले घट्यो

वीरगञ्ज, मंसिर २ । वीरगञ्जको सिर्सियास्थित सुक्खाबन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको चार महिनामा रु १६ अर्ब ५५ करोड २६ लाख ९९ हजार राजस्व सङ्कलन गरेको छ । कार्यालयले चार महिनाको अवधिमा कूल वार्षिक लक्ष्यको २७ दशमलव ५७ प्रतिशत राजस्व सङ्कलन गरेको हो ।

सुक्खाबन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवालले विदेशी मुलुकबाट वस्तु तथा सामान आयात घट्दा राजस्व सङ्कलनमा कमी आएको बताए। चाडपर्वको समयमा धेरै बिदा भएकाले पनि पछिल्ला महिनामा विदेशबाट वस्तु तथा सामानको आयात घटेको भन्दै उनले राजस्व सङ्कलन पनि घटेको उल्लेख गरे ।

चालु आवको साउनमा रु तीन अर्ब ७५ करोड, भदौमा रु चार अर्ब ६४ करोड, असोजमा रु चार अर्ब ३६ करोड र कात्तिकमा तीन अर्ब ७९ करोड राजस्व सङ्कलन भएको भन्सार अधिकृत बरुवालले जानकारी दिए ।

कार्यालयले गत आवको चार महिनामा रु १६ अर्ब ७५ करोड ३१ लाख ५५ हजार राजस्व सङ्कलन गरेको थियो । गत आवको चार महिनाको तुलनामा चालु आवको सोही अवधिमा रु २० करोड चार लाख ५६ हजारले राजस्व सङ्कलनमा कमी आएको छ ।

सम्बन्धित समाचार