काठमाडौं, पुस ७ । सूर्यदर्शन सहकारीको रकम अपचलनसम्बन्धी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पत्नी निकिता पौडेललाई पनि प्रतिवादी कायम गरिएको छ ।
पौडेललाई सम्पत्ति जफत गर्ने प्रयोजनको लागि प्रतिवादी बनाएर कास्की जिल्ला अदालतमा मुद्दा दायर गरिएको हो । सम्पत्ति जफत प्रयोजनको लागि उनीसहित ५ जनालाई प्रतिवादी कायम गरिएको छ ।
सम्पत्ति जफतका लागि निकितासँगै पद्मा बन्जाडे, रोचक जोशी, राधा पछाई, मिना पछाईलाई प्रतिवादी बनाइएको अभियोग पत्रमा उल्लेख छ । उनीहरूको हकमा अदालतबाटै कानुन बमोजिम हुने भनिएको छ ।
जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले आज रविसहित ३१ जनाविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । प्रतिवादीहरुविरुद्ध १ अर्ब ५१ करोड ४० लाख १९ हजार १९४ रुपैयाँ बिगो दाबी रहेको छ ।
प्रतिवादीहरु लिला पछाई र विश्वविक्रम राईविरुद्ध भने क्रिप्टो कारोबारअन्तर्गत पनि मुद्दा अगाडि बढाइएको छ ।
