काठमाडौं, माघ ९ । नागरिक एप र राष्ट्रिय परिचयपत्रबीच अन्तरआबद्धता प्रक्रिया सकिएको छ। अन्तरआबद्धतासँगै नागरिक एपभित्रै राष्ट्रिय परिचयपत्र देख्न सकिने भएको हो।
एपमा नम्बर इन्ट्री गर्नासाथ आफ्नो परियचपत्र हेर्न पाइने राष्ट्रिय परिचयपत्र तथा पन्जीकरण विभागले जनाएको छ। कात्तिक २ को मन्त्रिपरिषद् बैठकले अन्तरआबद्धताका लागि स्वीकृति दिएको थियो।
राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणाली र नागरिक एपबीच अन्तरआबद्धता कायम गर्न प्राविधिक परीक्षण गरिएको सूचना प्रविधि विभाग र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले बताएका छन्।
सूचना प्रविधि विभागका अनुसार हाल करिब ५५ लाख प्रयोगकर्ताले नागरिक एप डाउनलोड गरेका छन्। एन्ड्रोइडमा ४९ लाख १० हजार ५ सय ९६, आईओएसमा ६ लाख १२ हजार १ सय १५ र वेबमा २३ सय २७ डाउनलोड भइसकेको छ। एपमा हाल ३२ निकायका ६२ वटा सेवा तथा सूचना आबद्ध गरिएको छ।
राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमार्फत हालसम्म १ करोड ६५ लाखभन्दा बढी नागरिकको विवरण संकलन भइसकेको र हालसम्म ६० लाखभन्दा बढी परिचयपत्र छापिएको विभागले जनाएको छ। यसमध्ये ५५ लाख वटा कार्ड विभिन्न जिल्ला पठाइएका छन् भने हालसम्म २० लाख वितरण भएको छ।
