Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

राष्ट्र बैंकको वित्तीय स्थायित्व रिपोर्ट भन्छः अर्थतन्त्र पुनरुत्थानको संकेत प्रष्ट छ

राष्ट्र बैंकको वित्तीय स्थायित्व रिपोर्ट भन्छः अर्थतन्त्र पुनरुत्थानको संकेत प्रष्ट छ

अर्थ प्लस
राष्ट्र बैंकको वित्तीय स्थायित्व रिपोर्ट भन्छः अर्थतन्त्र पुनरुत्थानको संकेत प्रष्ट छ

काठमाडौं।नेपाल राष्ट्र बैंकले मुलुकको अर्थतन्त्रमा उल्लेखनीय सुधार हुँदै स्थायित्व र पुनरुत्थानको संकेत देखिएको उल्लेख गरेको छ। केन्द्रीय बैंकले ‘फाइनान्सियल स्टाबिलिटी रिपोर्ट २०२४' सार्वजनिक गर्दै मुलुक आर्थिक सुधारको बाटो उन्मुख रहेको उल्लेख गरेको हो।

गत वर्ष नेपालको कृषि क्षेत्रको सुधार, सेवा क्षेत्रको उत्पादन वृद्धि, मुद्रास्फीतिको सिमितता, रेमिट्यान्सको वृद्धि र विदेशी मुद्रा सञ्चितीको वृद्धिले गर्दा आगामी दिनमा लामो सयमयताको आर्थिक मन्दी विस्तारै हट्दै जाने सार्वजनिक रिपोर्टमा उल्लेख छ।

सेवा क्षेत्रको वृद्धि, कृषिमा सुधार र ऊर्जा उत्पादनमा उकालो लागेसँगै आर्थिक वृद्धि दर ३.८७ प्रतिशत पुगेको प्रतिवेदनमा उल्लेख छ। मुद्रास्फीति ३.५७ प्रतिशतमा सीमित रहँदा, वैदेशिक क्षेत्र सुदृढ देखिएको छ। रेमिट्यान्स १६.५ प्रतिशतले वृद्धि भएर विदेशी मुद्रा सञ्चिति सुधारिएको र भुक्तानी सन्तुलन सकारात्मक रहेको राष्ट्र बैंकको विश्लेषण छ।

बैंक तथा वित्तीय संस्थाहरूले समग्र रूपमा स्थायित्व कायम राखेका भए पनि निष्कृय कर्जाको र गैर बैंकिङ सम्पत्तिको वृद्धि र पुँजी पर्याप्तताको गिरावटले राष्ट्र बैंकले वित्तीय प्रणालीको सुदृढता कायम राख्न सावधानीपूर्वक, सक्रिय र दूरदर्शी नीतिगत हस्तक्षेप आवश्यक रहेको प्रतिवेदनमा उल्लेख छ। 

१. सन् २०२४ मा विश्व अर्थतन्त्र मध्यम गतिको साथ वृद्धि भएको छ। विकसित र विकासशील तथा उदाउँदो बजार अर्थतन्त्रहरूले स्थिर वृद्धि मार्ग कायम राख्ने अपेक्षा गरिएको छ। सन् २०२४ मा विश्व अर्थतन्त्र ३.२ प्रतिशतले वृद्धि भएको छ।

२. आपूर्ति शृङ्खलामा सहजता र वस्तुहरूको मूल्यमा गिरावटका कारण वैश्विक रूपमा मुद्रास्फीति दर घटेको छ। सन् २०२४ मा विश्वव्ययापि मुद्रास्फीति ५.७ प्रतिशतमा कायम रहेको छ।

३. नेपाली अर्थतन्त्रले आर्थिक वर्ष २०८०/८१ मा सेवा क्षेत्रको उल्लेखनीय वृद्धि तथा कृषि र ऊर्जा उत्पादनको वृद्धिका कारण पुनरुत्थानको संकेत देखाएको छ। यस अवधिमा नेपाली अर्थतन्त्र ३.८७ प्रतिशतले वृद्धि भएको छ।

४. उपभोक्ता मूल्य सूचकांक आधारित मुद्रास्फीति लक्ष्यभन्दा केही माथि भए तापनि, यसले 'सॉफ्ट ल्यान्डिङ'पछि स्थायित्व पाएको छ। मुद्रास्फीति ३.५७ प्रतिशतमा कायम रह्यो, जुन मुख्यतः खाद्य बाहेकका वस्तुहरूमा मूल्य गिरावटका कारण हो।

५. वैदेशिक क्षेत्र स्थिर रह्यो, जहाँ रेमिट्यान्स, भुक्तानी सन्तुलन र विदेशी मुद्रा सञ्चिति सकारात्मक प्रवृत्तिमा रहे। रेमिट्यान्स १६.५ प्रतिशतले बढेको छ र भुक्तानी सन्तुलन अनुकूल छ।

६. नेपाल राष्ट्र बैंकले अपनाएको सावधानीपूर्ण र अनुकूल मौद्रिक नीतिले मुद्रास्फीतिमा नियन्त्रण, बजार ब्याजदरमा गिरावट र मौद्रिक क्षेत्रको वृद्धिमा योगदान दिएको छ। व्यापक मुद्रा आपूर्ति १३ प्रतिशतले, निजी क्षेत्रको कर्जा ५.८ प्रतिशतले र बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप १३ प्रतिशतले वृद्धि भएको छ।

७. नेपाल राष्ट्र बैंकले कार्यान्वयन गरेको मर्जर र प्राप्ति नीतिका कारण विगत केही वर्षदेखि बैंक तथा वित्तीय संस्थाहरूको संख्या क्रमशः घट्दै आएको छ। समीक्षावधिमा १० वटा माइक्रोफाइनान्स संस्थाहरू मर्ज भएका छन्। २०८१ असारसम्म बीएफआईहरूको कुल संख्या १०७ पुगेको छ।

८. समीक्षावर्षमा वित्तीय प्रणालीमा बैंक तथा वित्तीय संस्थाहरुको सम्पत्तिको हिस्सा ७८.२६ प्रतिशतमा झरेको छ, जुन अघिल्लो वर्ष ७९.८४ प्रतिशत थियो।

९. वाणिज्य बैंक, विकास बैंक, वित्त कम्पनी, लघु वित्त कम्पनी र पूर्वाधार विकास बैंकहरूको कुल सम्पत्ति स्थिर रहेको छ। वाणिज्य बैंकको हिस्सा सबैभन्दा धेरै ६४.७८ प्रतिशत, त्यसपछि विकास बैंक ६.७१ प्रतिशतको रहेको छ।

१०. बीमा कम्पनीहरू सबैभन्दा ठूलो हिस्सा राख्ने गैर–बैंक वित्तीय संस्था बनेका छन्। त्यसपछि कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र पुनर्बीमा कम्पनीहरू रहेका छन्।

११. बैंक तथा वित्तीय संस्थाहरुको कर्जा वृद्धिदर ६.११ प्रतिशतमा पुगेको छ। जुन अघिल्लो वर्षको ८.७३ प्रतिशतभन्दा थोरै कम हो। निक्षेप वृद्धिदर १३ प्रतिशत पुगेको छ।

१२. बैंक तथा वित्तीय संस्थाहरुको कर्जा वितरणमा उपभोग कर्जा १९.६२ प्रतिशत, थोक तथा खुद्रा व्यापार १९.३४ प्रतिशत, कृषि, वन र पेय उत्पादन १६.६० प्रतिशत र वित्त, बीमा तथा रियल स्टेट ७.६७ प्रतिशतमा बढी केन्द्रीकरण रहेको देखिएको छ।

१३. बैंक तथा वित्तीय संस्थाहरुको वित्तीय सुदृढता सूचकहरूले वित्तीय प्रणालीको स्थायित्व देखाएका छन् पुँजी पर्याप्तता नियामक आवश्यकताभन्दा माथि भए तापनि घट्दो क्रममा छ। जसले नियामकीय चासो उत्पन्न गरेको छ। समग्र पुँजी पर्याप्तता अनुपात १२.९२ प्रतिशत र कुल पूँजी अनुपात १०.२० प्रतिशत रहेको छ।

१४. निष्कृय कर्जाको अनुपात बढेर ३.०२ प्रतिशतबाट ३.८६ प्रतिशत पुगेको छ। जसले वित्तीय प्रणालीको सुदृढता कायम राख्न चुनौती देखाएको छ।

१५. निष्कृय कर्जाको वृद्धिले बैंक तथा वित्तीय संस्थाहरुको वित्तीय विवरणको वृद्धि रोकिएको छ र नाफामा असर परेको छ। बैंक तथा वित्तीय संस्थाहरुकोे कुल नाफा ७१.४३ अर्ब रहेको छ। जुन अघिल्लो वर्षको तुलनामा ७.२२ प्रतिशतले घटेको हो।

१६. वाणिज्य बैंकहरूको तरलता अनुपात ६.७८ प्रतिशतमा पुगेको छ। जुन नियामकीय मापदण्डभन्दा माथि छ। कुल तरल सम्पत्तिको निक्षेप अनुपात २६.४४ प्रतिशत रहेको छ, जुन अघिल्लो वर्षको २७.१० प्रतिशतभन्दा रहेको थियो। तर, यो न्यूनतम आवश्यक २० प्रतिशतभन्दा धेरै छ।

१७. स्प्रेडरेट र बेसरेटमा प्रिमियम प्रणालीले उपभोक्ता संरक्षण र प्रतिस्पर्धा दुवैलाई प्रवर्धन गर्न मद्दत गरेको छ। समीक्षा वर्षमा वाणिज्य बैंकहरूको औसत मासिक बेसरेट ९.१८ प्रतिशत रहेको छ।

१८. समीक्षावधिमा अमेरिकी डलर सूचकांक १०७ मा पुगेको छ। नेपाली रुपैयाँ अमेरिकी डलर सापेक्ष १.६४ प्रतिशतले अवमूल्यन भएको छ। विनिमय दर १३३.३६ रुपैयाँ प्रति डलर पुगेको छ, जुन अघिल्लो वर्ष १३१.१७ थियो।

१९. असार २०८१ सम्म ९ वटा भुक्तानी प्रणाली सञ्चालक र २६ वटा भुक्तानी सेवा प्रदायक सञ्चालनमा छन्। आरटिजीएस, कनेक्ट आएपिएस, फोनपे, क्यूआर, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, कार्डलेस क्यास, र पिओएसको प्रयोग बढ्दै गएको छ।

२०. वित्तीय समावेशीकरण र पहुँच उल्लेखनीय रुपमा वृद्धि भएको छ। सबै स्थानीय तहमा शाखा विस्तार, वित्तीय साक्षरताको सुधार र डिजिटल सेवाको अपनत्वले यसको प्रवर्द्धन गरेको छ।

२१. यद्यपि, जोखिमहरू विद्यमान छन्, नेपालको वित्तीय प्रणालीले घरेलु तथा अन्तर्राष्ट्रिय अस्थिरताको बीचमा पनि स्थिरता कायम राख्न सफल भएको छ। पूँजी पर्याप्तता, तरलताजस्ता सूचकहरू नियामकीय मापदण्डभन्दा माथि छन्, तर सम्पत्तिको गुणस्तर घट्ने क्रमले नियामकीय सतर्कता आवश्यक बनाएको छ। 
 

सम्बन्धित समाचार