Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

भ्रष्टचारको आरोप लागेका सेबोन अध्यक्षलाई अर्थमन्त्रीको सुझाव : ‘बिचौलियाको फन्दामा नपर्नु, इन्साइडर ट्रेडिङ रोक्नु’

भ्रष्टचारको आरोप लागेका सेबोन अध्यक्षलाई अर्थमन्त्रीको सुझाव : ‘बिचौलियाको फन्दामा नपर्नु, इन्साइडर ट्रेडिङ रोक्नु’

अर्थ प्लस
भ्रष्टचारको आरोप लागेका सेबोन अध्यक्षलाई अर्थमन्त्रीको सुझाव : ‘बिचौलियाको फन्दामा नपर्नु, इन्साइडर ट्रेडिङ रोक्नु’

काठमाडौं, जेठ २५ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष सन्तोष नारायण श्रेष्ठलाई बिचौलियाको प्रभावमा नपरी काम गर्न, इन्साइडर ट्रेडिङ नियन्त्रण गर्न र नयाँ वित्तीय उपकरणहरू विकास गर्न निर्देशन दिएका छन्।

आइतबार धितोपत्र बोर्डको ३३औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले पूँजीबजारलाई अर्थतन्त्रको ऐना भन्दै लगानीकर्ताले ढुक्कसँग लगानी गर्न सक्ने वातावरण बनाउने जिम्मेवारी बोर्डको भएको बताएका हुन्।

हालै सेबोन अध्यक्ष श्रेष्ठमाथि जलविद्युत् कम्पनीको आईपीओ स्वीकृतिमा अनियमितता र पैसा मागेको आरोप सार्वजनिक भइरहेका बेला अर्थमन्त्रीको टिप्पणीलाई विशेष रूपमा हेरिएको छ। उनले सार्वजनिक मञ्चमै अध्यक्ष श्रेष्ठलाई ‘बोर्डमा भइरहेका अवाञ्छित गतिविधिहरू तुरुन्त रोक्न’ आग्रह गरे।

अर्थमन्त्री पौडेलले भने, “बोर्डमा दबाब र प्रभाव पार्ने धेरै प्रयास हुन्छन्, तर तपाईँले त्यसबाट माथि उठेर स्वतन्त्र काम गर्नुपर्छ।”

साथै उनले इन्साइडर ट्रेडिङ, अपारदर्शी प्रक्रिया र अनियमितता नियन्त्रण गर्न सेबोनलाई सक्रिय भूमिका खेल्न निर्देशन दिए।

‘हात बाँधेर बस्ने होइन, केही गरेर देखाउनुपर्छ’ भन्दै अर्थमन्त्री पौडेलले बोर्डको नियामक भूमिका सशक्त र प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याए। उनले गल्ती नगर्न र गल्ती गर्नेलाई कारबाही गर्न पनि पछि नपर्नु भन्ने स्पष्ट सन्देश दिएका थिए।

उनले भने, “राम्रो काम गर्नेलाई प्रोत्साहन गर्नुपर्छ, गल्ती गर्नेलाई भने कारबाही गर्नुपर्छ।”

साथै उनले पूँजीबजारमा नयाँ वित्तीय उपकरण भित्र्याउने, साना लगानीकर्ताको हित रक्षा गर्ने, र नेप्सेको पुनर्संरचना गर्ने कार्यमा सरकार प्रतिबद्ध रहेको बताए।

आगामी आर्थिक वर्षको बजेट वक्तव्यबाट सरकारको पूँजीबजारप्रतिको धारणा स्पष्ट भएको र बजारको पुनर्संरचनाका लागि विशेष कार्ययोजना लागू गरिने उनले बताए।

सम्बन्धित समाचार