Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

images

संस्थापक समूहको सेयर अभौतिकरण गर्ने सिडिएससीको प्रस्तावमा इप्पानकाे आपत्ति

संस्थापक समूहको सेयर अभौतिकरण गर्ने सिडिएससीको प्रस्तावमा इप्पानकाे आपत्ति

अर्थ प्लस
संस्थापक समूहको सेयर अभौतिकरण गर्ने सिडिएससीको प्रस्तावमा इप्पानकाे आपत्ति

काठमाडाैं। सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडीएससी) को सञ्चालक समितिले कम्पनीको सेयर सूचीकरण गर्ने सम्बन्धमा गरेको पछिल्लो निर्णयप्रति स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) ले आपत्ति जनाएकाे छ। मंगलबार एक विज्ञप्ति जारी गर्दै इप्पानले संस्थापक समूहको सेयर अभौतिकरण गर्ने सम्बन्धमा सिडिएससीको प्रस्तावमाथि गम्भीर ध्यानाकर्षण जनाएकाे हाे।

सिडिएससीले धितोपत्र बजारमा सेयरको सार्वजनिक निष्काशन गरी सूचीकृत हुने प्रक्रियामा रहेका कम्पनीहरुको संस्थापक समूहको सेयर अभौतिकरण प्रक्रिया लम्ब्याउँदै अन्तत सबै कम्पनीहरुको संस्थापक र सर्वसाधारणतर्फ जारी भएको सेयरको छुट्टाछुट्टै आईएसआईएन नम्बर जारी गर्नको लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) मा प्रस्ताव पठाएको थियाे।

सो प्रस्तावले संस्थापक लगानीकर्ता, निजी क्षेत्र, वैदेशिक लगानीकर्ता, सेयरमा लगानी गर्ने आम सर्वसाधारणमा थप अन्यौलता र अस्पष्टता पैदा भएकाे इप्पानले बताएकाे छ। साथै, उनीहरूमा निराशा पैदा हुने अवस्था सिर्जना भएको विज्ञप्तिमा उल्लेख छ।

अन्तर्राष्ट्रिय मान्यता र स्थापित आईएसआईएन अभ्यास विपरित साे प्रस्ताव कार्यान्वयन भए देशप्रति अर्न्तराष्ट्रिय जगतको दृष्टिकोणमा समेत नकारात्मक प्रभाव पार्ने इप्पानले बताएकाे छ।

नेपाली निजी क्षेत्र तथा गैरआवासीय नेपाली समुदायको लगानीका साथै प्रत्यक्ष वैदेशिक लगानीमा समेत असर पर्ने गरी अघि बढाएको प्रस्तावले स्वदेशी पुँजी संकलन, गैरआवासीय नेपालीहरुमार्फत आउने लगानी र विदेशी लगानी व्यवस्थापनमा समेत कठिनाइ हुने इप्पानकाे भनाइ छ।

यस्तै, यसको सबैभन्दा ठूलो असर ऊर्जा क्षेत्रमा पर्ने देखिएको उल्लेख गर्दै इप्पानले पछिल्लो समयमा संस्थापक सेयर लगानीकर्ताहरुको संख्या बढीरहेको बेला छुट्टाछुट्टै आईएसआईएनको प्रस्तावले संस्थागत लगानीमा ठूलो गिरावट आउने दाबी गरेकाे छ।

सरकारले अघि सारेको आगामी १० वर्षभित्र २८ हजार ५ सय मेगावाट उत्पादन पुर्‍याउने लक्ष्यसहितको ऊर्जा विकास मार्गचित्र कार्यान्वयनलाई सो प्रस्तावले असम्भव बनाउने इप्पानकाे विज्ञप्तिमा उल्लेख छ। 

सम्बन्धित समाचार