काठमाडौं- नेपालका १४ जीवन बीमा कम्पनीहरूले गत आर्थिक वर्षमा करिब २ खर्ब रुपैयाँ बराबरको बीमा व्यवसाय गरेका छन्। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार आर्थिक वर्ष २०८०/८१ को असार मसान्तसम्म यी कम्पनीहरूले कुल १ खर्ब ८१ अर्ब ४२ करोड ९९ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन्, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १६.०५ प्रतिशतले बढी हो। अघिल्लो आर्थिक वर्ष २०७९/८० मा कम्पनीहरूको कुल व्यवसाय १ खर्ब ५६ अर्ब ३३ करोड १४ लाख रुपैयाँ थियो।
गत आवमा सबैभन्दा धेरै बीमा शुल्क संकलन गर्ने कम्पनी नेपाल लाइफ इन्स्योरेन्स रह्यो। यस कम्पनीले ४८ अर्ब ३ करोड ८० लाख रुपैयाँ संकलन गर्दै अघिल्लो वर्षको तुलनामा १७।५९ प्रतिशत वृद्धि गरेको छ। दोस्रो स्थानमा नेशनल लाइफ इन्स्योरेन्सले २२ अर्ब ४२ करोड ४४ लाख रुपैयाँ संकलन गर्दै १६.७७ प्रतिशत वृद्धि हासिल गर्यो। तेस्रो स्थानमा एलआइसी नेपाल रह्यो जसको व्यवसाय १९ अर्ब ९२ करोड ५५ लाख रुपैयाँ पुगेको छ, जुन १०.०४ प्रतिशतले बढी हो।
हिमालयन लाइफको व्यवसाय १७ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ भने सूर्यज्योति लाइफले ११ अर्ब १८ करोड रुपैयाँको बीमा शुल्क संकलन गरेको छ। एशियन लाइफको व्यवसाय १० अर्ब २४ करोड ८४ लाख रुपैयाँमा पुगेको छ, जसमा २७.२३ प्रतिशत वृद्धि भएको हो। सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीले ९ अर्ब ८५ करोड ६६ लाख रुपैयाँ संकलन गर्दै १३.१० प्रतिशत वृद्धि गरेको छ।
सिटिजन लाइफले ७ अर्ब ५१ करोड १३ लाख रुपैयाँ संकलन गर्दै २०.८५ प्रतिशत, सानिमा रिलायन्स लाइफले ७ अर्ब ६९ लाख रुपैयाँ संकलन गर्दै १३.२१ प्रतिशत, र मेट लाइफले ६ अर्ब २५ करोड ८३ लाख रुपैयाँ संकलन गर्दै १०.२० प्रतिशतले वृद्धि गरेका छन्। आइएमई लाइफको व्यवसाय ५ अर्ब ६५ करोड २७ लाख रुपैयाँ पुगेको छ भने प्रभु महालक्ष्मी लाइफको व्यवसाय ५ अर्ब ३७ करोड १ लाख रुपैयाँमा पुगेको छ।
रिलायबल नेपाल लाइफले ५ अर्ब २८ करोड ४५ लाख रुपैयाँको व्यवसाय गर्दै २५.५५ प्रतिशत वृद्धि गरेको छ भने सन नेपाल लाइफको व्यवसाय ५ अर्ब ४५ लाख रुपैयाँमा पुगेको छ, जुन २८.८० प्रतिशतको वृद्धि हो। यी तथ्याङ्कले देखाउँछ कि अधिकांश जीवन बीमा कम्पनीहरूले दोहोरो अंकको वृद्धि दर कायम राख्न सफल भएका छन् र बजारमा प्रतिस्पर्धा थप तीव्र भएको छ।
