काठमाण्डौ । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि बैंक तथा वित्तीय संस्था तथा व्यवसायिक क्षेत्रमा परेको क्षति मूल्यांकन गर्न नेपाल राष्ट्र बैंक सक्रिय भएको छ। राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले शुक्रबार बैंकिङ क्षेत्रका प्रतिनिधि र उद्योगी व्यवसायीहरूसँग छुट्टाछुट्टै छलफल गर्दै घटनाबारे जानकारी लिएका छन्।
त्यस्तै, उद्योग र व्यापार क्षेत्रमा भएको असर बुझ्न गभर्नरले नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघका पदाधिकारीहरूसँग पनि छलफल गरेका थिए। उद्योग महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ, चेम्बरका अध्यक्ष कमलेस अग्रवाल, उद्योग परिसंघका अध्यक्ष विरेन्द्र पाण्डेसहित व्यवसायी सतिस मोर, दिपक मलहोत्रा र प्रवलजंग पाण्डे समेत सहभागी थिए।
नेपाल बैंकर्स संघले दिएको विवरणअनुसार आन्दोलनका कारण ६५ वटा बैंक शाखा तथा एक्सटेन्सन काउन्टरमा क्षति पुगेको छ। जसमा ४० वटा एक्सटेन्सन काउन्टर र २५ वटा शाखा कार्यालय छन्। साथै, करिब ४५ वटा एटीएम तोडफोडमा परेका छन्। आन्दोलन हिंस्रक बनेपछि निजी तथा सरकारी कार्यालयहरूसँगै सयौँ व्यावसायिक भवनमा तोडफोड, आगजनी र लुटपाट भएको थियो।
