Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

images

सेयर बजार असोज ५ बाट पुनः सञ्चालन: सुरुमा दैनिक २ घण्टा, सर्किट ब्रेकर नियममा संशोधन

सेयर बजार असोज ५ बाट पुनः सञ्चालन: सुरुमा दैनिक २ घण्टा, सर्किट ब्रेकर नियममा संशोधन

अर्थ प्लस
सेयर बजार असोज ५ बाट पुनः सञ्चालन: सुरुमा दैनिक २ घण्टा, सर्किट ब्रेकर नियममा संशोधन

काठमाडौं, भाद्र २९, २०८२: नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले आगामी असोज ५ गतेदेखि केही सुरक्षा उपायहरूसहित सेयर कारोबार पुनः सुरु गर्ने तयारी गरेको छ। पूँजीबजारको प्रमुख नियामक निकाय नेपाल धितोपत्र बोर्डले बजारमा कमभन्दा कम क्षति हुने गरी आवश्यक सावधानीसहित कारोबार खोल्ने पहल गरेको हो।

बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले लगानीकर्ताहरूको बजार खोल्नुपर्ने मागलाई ध्यानमा राखी नेपाल स्टक एक्सचेञ्ज र सेयर राफसाफ गर्ने निकाय सिडिएस एण्ड क्लियरिङ लिमिटेडका प्रमुखहरूसँग छलफल सुरु गरेका छन्।

आइतबार खुमलटारस्थित बोर्डको कार्यालयमा नेप्सेका प्रमुख कार्यकारी अधिकृत चूडामणि चापागाईं र सिडिएससीकी प्रबन्ध निर्देशक प्रविन पन्दाकसँग बजार कसरी खोल्ने, कस्ता सुरक्षा उपाय अपनाउने, र लगानीकर्तालाई ठूलो नोक्सानीबाट जोगाउन कस्ता नियम परिवर्तन गर्ने भन्ने विषयमा छलफल भएको थियो।

स्रोतका अनुसार, तीनवटै निकायका प्रमुखहरूबीच असोज २ गतेअघि बजार नखोल्ने र आवश्यक तयारीसहित असोज ५ गतेदेखि कारोबार सुरु गर्ने विषयमा प्रारम्भिक सहमति भएको छ। ठोस निर्णय नभए पनि तीनवटै निकायका प्रमुखहरू असोज ५ बाट बजार खोल्ने विषयमा सकारात्मक छन्।

सम्भावित सुरक्षा उपायहरू

हालैको राजनीतिक परिवर्तन र निजी क्षेत्र तथा लगानीकर्तामाथि भएका आक्रमणका कारण लगानीकर्ताको मनोबल कमजोर भएको अवस्थामा बजारलाई सुरक्षित बनाउन छलफल केन्द्रित भएको छ। देशमा राजनीतिक अस्थिरता र आर्थिक चुनौतीका बीच बजारलाई सुरक्षित रूपमा सञ्चालन गर्न निम्न उपायहरूमा सहमति भएको स्रोतले जनाएको छ:

  • घटाइएको कारोबार समय: हाल दैनिक ४ घण्टा हुने कारोबारलाई सुरुमा २ घण्टामा सीमित गरिनेछ। बजार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म मात्र सञ्चालन हुनेछ।
  • सर्किट ब्रेकर नियम परिवर्तन: बजारमा ठूलो गिरावट रोक्न पहिलो एक घण्टामा नेप्से परिसूचक ३ प्रतिशतले घटेमा कारोबार स्थगन गरिनेछ। हालको नियमअनुसार ४ प्रतिशतले घटेपछि मात्र सर्किट ब्रेकर लाग्छ। पुनः सुरु हुने कारोबारमा दोस्रो र तेस्रो सर्किट ब्रेकर पनि सोहीअनुसार परिमार्जन गरिनेछ।

पूर्ण कारोबार क्रमशः सुरु

स्रोतका अनुसार, अन्तरिम सरकार गठनपछि नयाँ अर्थमन्त्री र सरकारको आर्थिक नीतिले लगानीकर्ताको मनोबलमा प्रभाव पार्ने भएकाले बजारको अवस्था हेरेर मात्र दैनिक ४ घण्टा (पूर्ण चरण) को कारोबार सुरु गरिनेछ। तीनवटै निकायका प्रमुखहरू बजार र अर्थतन्त्रमा सकारात्मक संकेत देखिएपछि मात्र पूर्ण कारोबारमा फर्कने विषयमा एकमत छन्।

सम्बन्धित समाचार