Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

images

गभर्नर विश्व पौडेललाई राजीनामा दिन जेन–जीको दबाब, नटेरे आन्दोलनको चेतावनी

गभर्नर विश्व पौडेललाई राजीनामा दिन जेन–जीको दबाब, नटेरे आन्दोलनको चेतावनी

पौडेलमाथि बारम्बार नैतिकताको प्रश्न उठेको छ र उनको कार्यसम्पादन पनि अत्यन्त कमजोर रहेको छ

अर्थ प्लस
गभर्नर विश्व पौडेललाई राजीनामा दिन जेन–जीको दबाब, नटेरे आन्दोलनको चेतावनी

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी तथा पूर्वपरराष्ट्रमन्त्री आरजू राणा देउवाको नजिकको व्यक्तिको रूपमा चिनिएका विश्वनाथ पौडेललाई नेपाल राष्ट्रबैंकको गभर्नर पदबाट राजीनामा दिनुपर्ने माग जेनजी समूहले उठाएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त र आयुक्तहरूको सामूहिक राजीनामाको माग गर्दै मंगलबार औपचारिक पत्र दर्ता गराएको जेनजी अलायन्सका सदस्यहरूबीच पौडेलले गभर्नरबाट राजीनामा दिनुपर्ने र नदिएमा आन्दोलनको बलमा हटाउनुपर्ने विषयमा छलफल भएको छ।

जेनजी अलायन्सका एक सदस्यका अनुसार केही दिनदेखि गभर्नरको रूपमा कांग्रेस कार्यकर्ताको नियुक्ति भएको र पौडेलले निष्पक्ष तथा प्रभावकारी काम गर्न नसकेको भन्दै उनको राजीनामाको माग उठेको छ। “वर्तमान गभर्नर आफैं कांग्रेसबाट प्रत्यक्ष चुनाव लडेका नेता हुन्। राष्ट्रबैंकजस्तो संवेदनशील संस्थामा राजनीतिक कार्यकर्ता नियुक्त गर्नु गलत हो। यो अनुचित कार्य रोक्न पनि गभर्नरले समयमै राजीनामा दिनु उचित हुन्छ,” ती सदस्यले भने।

जेनजी आन्दोलनका क्रममा शेरबहादुर देउवाको घरमा आगजनी हुँदा ठूलो परिमाणमा पैसा जलेको भेटिएको थियो। भ्रष्टाचारको पैसा त्यहाँ राखिएको विषयमा सम्पत्ति शुद्धीकरणलगायतका निकायले छानबिन गरिरहेका छन्। जेनजी समूहमा केहीले आरजू राणाको पैसाप्रतिको मोहलाई सहयोग गर्ने प्रमुख पात्रको रूपमा विश्वनाथ पौडेललाई पनि लिने गरेका छन्। “देउवासँगको निकटताकै कारण उनलाई एकपछि अर्को अवसर दिइएको छ,” एक जेनजी सदस्यले बिजशालासँग भने, “जेनजीको बलिदानमा बनेको नयाँ सरकारपछि विश्वनाथ पौडेलजस्ता भ्रष्टाचारमा सहयोगी कार्यकर्तालाई केन्द्रीय बैंकको नेतृत्वमा राख्नु उपयुक्त छैन। उनले स्वेच्छाले राजीनामा दिए राम्रो हुन्छ।”

यसैबीच, जेनजी समूहबाट आफूमाथि दबाब आउन सक्ने संकेत पाएका गभर्नर पौडेल राजीनामा दिने मनस्थितिमा रहेको उच्च स्रोतले दाबी गरेको छ। केही दिनअघि उनले राजीनामा दिन खोजे पनि अर्थमन्त्री रामेश्वर खनालले रोकेको चर्चा सिँहदरबारमा छ।

केन्द्रीय बैंकको गभर्नर बन्न आवश्यक योग्यता नभएका पौडेललाई यो पदमा नियुक्त गरेपछि उनी विवादमा परेका छन्। उनको योग्यतासम्बन्धी मुद्दा अदालतमा विचाराधीन छ। अघिल्लो चुनावमा कांग्रेस उम्मेदवारका रूपमा सक्रिय उनलाई गभर्नर बनाउँदा नैतिकताको प्रश्न उठेको थियो। सत्ताको बलमा गभर्नर छनोट समितिको सदस्य बनेर उनले आफैंलाई गभर्नर बनाएका थिए, जसले उनको नैतिकतामाथि निरन्तर प्रश्न उठाएको छ।

केही समयअघि गभर्नर छनोट समितिको सदस्य रहेका उनले आफ्नो पक्षमा अवसर देखेपछि समितिबाट राजीनामा दिएर गभर्नर बनेका थिए। कांग्रेसभित्रै पनि उनलाई देउवाको दबाबमा “अरू योग्य व्यक्ति नभएजस्तो” गरेर गभर्नर बनाइएकोमा असन्तुष्टि थियो।

राजीनामाको दबाब र मनस्थितिबारे बुझ्न हामीले पौडेललाई पटक–पटक सम्पर्क गर्दा उनले फोन उठाएनन्। ह्वाट्सएपमा पठाएको सन्देशको पनि जवाफ आएन। उनको सचिवालयका एक अधिकारीमार्फत खबर पठाउँदा ती अधिकारीले भने, “उहाँ अहिले धेरै तनावमा हुनुहुन्छ, त्यसैले फोन नउठाउनुभएको होला।”

जेनजी आन्दोलनका क्रममा पौडेलको घर पनि जलाइएको थियो। त्यसपछि उनले दशैंअघि नै आफ्नी पत्नी र छोरीलाई अमेरिका पठाइसकेका छन्। उनी स्वयं पनि राजीनामा गरेर अमेरिका जाने तयारीमा रहेको स्रोतको दाबी छ। हाल पौडेल थापाथलीस्थित केन्द्रीय बैंकको भवनमा बस्दै आएका छन्।

सम्बन्धित समाचार