Logo

Oct 27 2026 | २०८३, कात्तिक ११गते

images

ओलीको टिप्पणी : ‘नक्कली भगवान्’ जन्मेर हैरान !

ओलीको टिप्पणी : ‘नक्कली भगवान्’ जन्मेर हैरान !

अर्थ प्लस
ओलीको टिप्पणी : ‘नक्कली भगवान्’ जन्मेर हैरान !

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘नक्कली भगवान जन्मिएर हैरान पारेको’ टिप्पणी गरेका छन् । मदन भण्डारी स्मृति प्रतिष्ठानको स्मारिका लोकार्पण कार्यक्रममा बोल्दै ओलीले धार्मिक मान्यता, योग दर्शन र समाजमा देखिएको अन्धभक्तिप्रति व्यङ्ग्य गरेका हुन् ।

पार्वतीले देवताहरूलाई श्राप दिएपछि देवताका सन्तान जन्मिने क्रम रोकिएको र त्यसपछि नक्कली भगवान जन्मिन थालेको टिप्पणी ओलीको छ । 

उनले पछिल्लो समय योगलाई पनि ईश्वरसँग जोडेर भ्रम सिर्जना गर्न खोजिएको पनि दाबी गरे ।

‘…२२–२३ सय वर्ष अगाडि मात्रै आइपुग्दाखेरि चाहिँ अनि भगवानहरू छ्यापछ्याप्ती जन्मिँदा जन्मिँदा ३३ कोटी जन्मिए, धन्न पार्वतीले श्राप दिइछन् र त्यसपछि देवता जन्मिन पाएनन् ।  पार्वतीले ‘अब उप्रान्त निसन्तान हुनु’ भनेर भन्ने श्राप दिइन् । अब कुनै देवताको पनि तिमीहरूको सन्तान नहोस् भनेपछि ठप्प भए देवताहरू,’ ओलीले थप व्याख्या गर्दे अघि भनेका छन्, ‘अब देवता, बढी देवता जन्मिँदैनन् । तर पार्वतीले श्राप दिएपछि फेरि भगवानहरू, नक्कली भगवान जन्मिएर हैरान छ । हामी आफैंले पनि अब यसो दक्षिणतिरका जोगीहरू आए भनेदेखि ठ्याप्पै खुट्टा समातेर ढोग्न मन लागिहाल्ने त्यस्तो चलन छ ।’

अष्टाङ्ग योगका यम र नियमले हिंसा नगर्न, असत्य नबोल्न, सत्य बोल्न, शान्तिको मार्गमा हिँड्न र अरूको सम्पत्तिमा लोभ नगर्न सिकाउने ओलीको भनाइ छ । यसलाई नै आधार बनाएर हिड्नुपर्नेमा उनको जोड थियो ।

‘सत्यबाट हामी आफ्ना विचार बनाउन प्रस्थान गर्न थाल्छौं। त्यहीँबाट हाम्रा विचारको प्रस्थान हुन्छ, न्यायबाट र मानवतावादबाट । यसैकारण यो अष्टाङ्ग योगको अष्टाङ्गमध्येको पहिलोले के भन्छ भन्दाखेरि– यम, दोस्रोले के भन्छ– नियम । यो गर, यो नगर । यम, नियम भनेको त्यो । हिंसा नगर, असत्य नबोल, सत्य बोल, शान्तिको मार्गमा हिंड, सबैको सुरक्षा भन्छ । अस्तेय, अर्काको सम्पत्तिमा लोभ नगर । आफ्नो हकको, जायज हकको चिजमा बाहेक अन्त कुनै लोभ नगर भन्छ । हामीले खोजेकै त्यही त हो नि,’ ओलीले भनेका छन् ।

अरूको सम्पत्तिमा लोभ नगर्ने, आफ्नो जायज हकमा मात्र सीमित रहने मान्यता आफूहरूले खोजेको सामाजिक आदर्शसँग मेल खाने उनको भनाइ छ । अध्यक्ष ओलीले पतञ्जलीको योगमा आइपुग्दा योग दर्शन ईश्वरवादसँग मिसिएको दाबी ओलीले गरे ।

‘तर यसमा के छ भनेदेखि यहाँ आइपुग्दाखेरि योग पतञ्जलिमा आइपुग्दाखेरि ईश्वरवादमा मिसिन गएको छ । त्योभन्दा अगाडि ईश्वरवादमा योग मिसिँदैन । सांख्यमा ईश्वरवादमा योग मिसिँदैन, शैवमा ईश्वरवादमा योग मिसिँदैन,’ उनले भने, ‘आदियोगी शिवले ईश्वरवादको कुरा गर्दैनन्, योगको कुरा गर्छन् । बलियो, स्वस्थ दिमाग, स्वस्थ शरीर राख । शिवको योगमा त्यो हुन्छ र सांख्य योगमा पनि त्यही हुन्छ ।’

उनले योगले स्वस्थ शरीर र स्वस्थ मस्तिष्कको विकासमा सहयोग गर्ने बताए ।

सम्बन्धित समाचार