काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–८ मा शुक्रबार राति रक्सी पिउने क्रममा भएको झगडामा २८ वर्षीय केशरसिंह बुढाको हत्या भएको छ । उनको घाँटी रेटेर हत्या गरिएको हो ।
प्रहरीका अनुसार हत्यामा संलग्न घोडाघोडीकै १८ वर्षीय बलबहादुर विक र १९ वर्षीय गंगा बुढा क्षेत्री छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी राजकुमार सिंहले भने, “पसलमा रक्सी पिउँदै गर्दा गालीगलौजबाट सुरु भएको विवाद बढ्दै गएपछि विक र क्षेत्रीले राति ११ः४५ बजे धारिलो हतियारले केशरसिंहको घाँटी रेटेर हत्या गरे ।”
हत्या गरेपछि विक र क्षेत्रीले केशरसिंहको टाउको लिएर आफन्तकहाँ गएका थिए । आफन्तले प्रहरीमा जान सुझाएपछि उनीहरू प्रहरी कार्यालय पुगेका थिए । डीएसपी सिंहले भने, “हातमा टाउको बोकेर प्रहरी कार्यालय आउँदै गर्दा हामीले उनीहरूलाई नियन्त्रणमा लियौँ । उनीहरूको केशरसिंहसँग पहिलेदेखि परिचय वा रिसिबी थिएन ।”
रक्सी पिउने क्रममा एकअर्कालाई गाली गरेपछि विवाद सुरु भएको प्रहरीले जनाएको छ ।
