काठमाडौं । छठ पर्वको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइँएको छ । छठ पर्वको मुख्य दिन अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइन्छ भने त्यसको भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर छठ समापन गरिन्छ ।
अस्ताउँदो सूर्यलाई अर्घ दिने छठ पर्वको मुख्य दिन सरकारले सार्वजनिक बिदा दिएको छ । ब्रतालुले आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ दिन्छन् ।
अस्ताउँदो सूर्यलाई अर्घ दिन राजधानीका गौरीघाट, कमलपोखरी, विष्णुमती, नख्खु, गहनापोखरी, कुपण्डोललगायत काठमाडौंका विभिन्न स्थानमा पूजास्थल निर्माण गरिएको छ । विशेषगरी तराई क्षेत्रमा मनाइने छठ पछिल्लो समय पहाडी र हिमाली क्षेत्रका मानिसले पनि मनाउँदै आएको पाइन्छ । यसले सामाजिक सद्भाव र एकता कायम गरेको छ।
त्यस्तै रौटहटको गढिमाई नगरपालिका वडा ८ को विरनगरास्थित पोखरीमा पनि व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य दिँएका छन् । छठ पर्वका लागि केहीदिन अघिदेखि नै पोखरी तथा नदी किनारलाई सरसफाइ गरेर सजाइएको छ । मधेश प्रदेशसहित देशका विभिन्न जिल्लामा अहिले पोखरी तथा नदी किनारमा तयार पारिएका छठ घाटमा व्रतालु एवं भक्तजन भीड देखिन्छ ।
छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने, परिवारको कल्याण हुने र आफ्ना सम्पूर्ण दुःख र कष्ट हटेर जाने जनविश्वास छ । छठका व्रतालुले कार्तिक शुक्ल चतुर्थीदेखि नै चोखो खानपान गरी शुद्ध भएर बस्ने गर्छन् । केही व्रतालुले भने कोजाग्रत पूर्णिमाको भोलिपल्ट अर्थात् कार्तिक कृष्ण प्रतिपदादेखि लसुन, प्याजलगायत तामसी खाद्यपदार्थ नखाइ चोखो अर्थात् सात्विक भोजन गरेर बस्छन् । यसैले यो पर्व अत्यन्तै पवित्र भएर मनाउने चाडका रुपमा पनि स्थापित भएको छ ।
