Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

images

कांग्रेस पदाधिकारी बैठकमा विश्वप्रकाश शर्माको ६ बुँदे प्रस्ताव सार्वजनिक

कांग्रेस पदाधिकारी बैठकमा विश्वप्रकाश शर्माको ६ बुँदे प्रस्ताव सार्वजनिक

अर्थ प्लस
कांग्रेस पदाधिकारी बैठकमा विश्वप्रकाश शर्माको ६ बुँदे प्रस्ताव सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक सम्पन्न भएको छ । महाधिवेशनको मिति निर्धारण गर्ने/नगर्ने विषयमा उत्पन्न विवाद निरुपण गर्न कार्यवाहक सभापति पूर्णबहादुर खड्काले शनिबार (कात्तिक १५) पदाधिकारी बैठक बोलाएका थिए ।

सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले ६ बुँदे प्रस्ताव पेस गरेका छन् । पार्टीमा पछिल्लो समय मुद्दाभन्दा ‘इगो’ ले प्राथमिकता पाएको उनको भनाइ छ । यस्तो अवस्थाले कुनै पनि पार्टीलाई ध्वस्त बनाउन सक्ने उनले जिकिर गरेका छन् ।

एक पक्षले केन्द्रीय समितिको र अर्को पक्षले महाधिवेशन प्रतिनिधिको बहुमतको ‘इगो’ बढाएको उल्लेख गर्दै उनले महासमितिको मतबाट निर्णय लिनुपर्ने प्रस्ताव अघि सारेका छन् ।

“एकातिर केन्द्रीय समितिको बहुमत छ, अर्कोतिर ५४% महाधिवेशन प्रतिनिधिको बहुमत छ,” शर्माले प्रस्तावमा लेखेका छन्, “दुवै बहुमतको सम्मान गर्दै दुवैभन्दा माथिल्लो निकाय महासमितिको मत डिजिटल भोटिङ प्रणालीमार्फत लिऔँ ।”

पदाधिकारी बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले पेस गरेको प्रस्ताव यसप्रकार छ–

१. मुद्दाभन्दा ‘इगो’ केन्द्रमा रह्यो भने कुनै पनि राजनीतिक दल संकटमा पर्छन् । आजको अवस्थामा कांग्रेसले राष्ट्रिय राजनीति र आन्तरिक जीवन दुवै क्षेत्रमा इगोमुक्त भएर आफूलाई उभ्याउनैपर्छ ।

२. एकथरी विचार राख्नेले नेतृत्वले अर्को विचार राख्नेलाई सार्वजनिक टिप्पणी गर्दा वा शुभचिन्तकहरूले सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदा आपसी सम्मानको ख्याल गरौँ ।

३. मंसिर वा वैशाख भनेर छलफलमा रहेका महाधिवेशनका दुई मितिबीच मध्यमार्गी समाधानस्वरूप पुस १६–१९ मा सहमत बनौँ ।

४. सहमति नजुट्दा पक्ष–विपक्षमा धेरै विभाजित नहोऔँ । एकातर्फ केन्द्रीय समितिको बहुमत छ, अर्कोतर्फ ५४% महाधिवेशन प्रतिनिधिको बहुमत छ । दुवै बहुमतको गरिमा कायम राख्दै दुवैभन्दा माथिल्लो निकाय महासमितिको राय डिजिटल भोटिङ प्रणालीबाट लिऔँ ।

५. महासमिति सदस्यहरूमाझ दुई विकल्प प्रस्तुत गरौँ–  
(क) पार्टीको १५औँ महाधिवेशन आमनिर्वाचनअघि सम्पन्न गरी नयाँ नेतृत्वसहित निर्वाचनमा जान उपयुक्त,  
(ख) कि आमनिर्वाचनपछि महाधिवेशन गर्न उचित ?

६. डिजिटल भोटिङमार्फत राय/मत संकलन गर्नु आजको प्रविधिको युगमा सामान्य प्रक्रिया हो । दुई दिनमै यो प्रक्रिया पूरा गर्न सकिन्छ । एउटा पुरानो दलमा यसको अभ्यासले विशेष सन्देश पनि दिनेछ । स्वदेश तथा विदेशमा छरिएका महासमिति सदस्यहरूको मत संकलन गर्ने यो विकल्प अहिलेको समयमा अत्यन्त लोकतान्त्रिक र अत्यन्त महत्त्वपूर्ण हुनेछ ।

सम्बन्धित समाचार