काठमाडौं । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) सहित आठ दलबीच आज राष्ट्रिय एकता सम्मेलन हुँदै छ । आइतबार यी आठ दल/समूहबीच एकताको सहमति भएको थियो ।
माओवादी केन्द्रका नेता अग्नि सापकोटाले एकताका लागि यसअघि सहमति पत्रमा हस्ताक्षर गरेका पार्टीबिच काठमाडौँको भृकुटीमण्डपमा आज दिउँसाे १ बजे एकता घोषणा हुने बताए ।
एकीकृत पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी रहने बताइएको छ । पार्टीको चुनाव चिह्न पाँच कुने तारा राख्ने दलहरूबिच सहमति भएको छ । यसअघि हिजो नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिले पार्टी एकतासम्बन्धी प्रस्ताव पारित गरेको थियो ।
यद्यपि यो एकताको विरोध गर्दै माओवादी केन्द्रका नेता जनार्दन शर्मा समूहले छुट्टै अभियान घोषणा गरिसकेका छन् । यसैबीच, माओवादी र एकीकृत समाजवादीका असन्तुष्ट नेताले भने पार्टी पुनर्गठन गर्ने बताउँदै आएका छन् । एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल पक्ष सोही पार्टी पुनर्गठन गर्ने भन्दै गृहकार्यमा छन् ।
नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले भने एमालेका पूर्वउपाध्यक्ष डा भीम रावलसहित दुवै पार्टीमा असन्तुष्ट रहेका नेतालाई पनि एकता प्रक्रियामा ल्याउने प्रयास भइरहेको दाबी गर्दै आएका छन् ।
