काठमाडौं । सर्लाहीको धनकौल गाउँपालिकास्थित अन्नपूर्ण चिनी उद्योगले किसानलाई वर्षौँदेखि दिन बाँकी उखुको भुक्तानी नदिएपछि किसानहरू पुनः आन्दोलनमा उत्रिएका छन् । उद्योगले आफ्नो बक्यौता रकम नतिरेको भन्दै किसानहरूले आइतबारदेखि उद्योगको गेटमै धर्ना सुरु गरेका हुन् ।
किसानहरूले आर्थिक वर्ष २०७०/७१ देखि नै उखुको रकम भुक्तानी नपाएको गुनासो गरेका छन् । गत वर्ष उखुको मूल्य तोक्दै नतोकिएको अवस्थामा मिल सञ्चालन गरिएको थियो । त्यसपछि पनि किसानहरूले बारम्बार माग गर्दा समेत रकम नपाएपछि उनीहरू आन्दोलनमा उत्रिएका हुन् ।
२०८० साल फागुन ६ गते जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा उद्योगपतिले २०८१ साल जेठ मसान्तभित्र सम्पूर्ण बक्यौता रकम भुक्तानी गर्ने लिखित प्रतिबद्धता जनाए पनि अहिलेसम्म त्यसको कार्यान्वयन नभएको किसानहरूको गुनासो छ ।
