३ मंसिर, काठमाडौं । नेकपा एमालेका कार्यकर्ताहरुसँग झडप भएपछि आक्रोशित समूहले बाराको सिमरा विमानस्थलको गेट तोडेको छ । केही युवाहरु विमानस्थलको मुख्य प्रवेशद्वारमा रहेको फलामको गेट फुटाएका हुन् ।
विमानस्थलको मुख्य गेटमा दुई जना मात्र प्रहरी तैनाथ थिए । युवाहरुले विमानस्थलको गेट बाहिरबाट धकेल्न थालेपछि भित्रबाट ती प्रहरीहरुले रोक्न खोजेका थिए । तर प्रहरीहरुले सकेनन् ।
गेट भाँचिएर प्रहरीकै माथि खसेको थियो । त्यसपछि केही युवाहरु भित्र छिरेका थिए । तर केहीबेरमै उनीहरुलाई प्रहरीले बाहिर निकालेको थियो ।
तनाव बढेपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश जारी गरेको छ । मध्यान्ह १२ः३० बजेदेखि बेलुका ८ बजेसम्म कर्फ्यु आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले जानकारी दिए ।
उनका अनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) र (ख) बमोजिम बाराको जीतपुर सिमरा उपमहानगरपालिका भित्र चार किल्ला क्षेत्र निर्धारण गरेर कर्फ्यु आदेश जारी गरिएको हो ।
गण्डक नहरदेखि पथलैया सडक खण्ड राजमार्गको दायाँ–बायाँ ५ सय मिटरसम्म तथा सिमरा विमानस्थलको वरिपरि ५ सय मिटरसम्म कसैले आवतजावत, कुनै प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा बैठक, घेराउ गर्न नपाउने गरी कर्फ्यु आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी मिश्रले भनेका छन् ।
