काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ । पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बैठक दिउँसो ३ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने जानकारी दिए ।
पार्टी महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले यही पुस २७ र २८ गते दुई दिन काठमाडौंको भृकुटीमण्डपमा विशेष महाधिवेशन आह्वान गरेका छन् । भृकुटीमण्डपको हल समेत बुकिङ गरिसकिएको नेताहरुले बताएका छन् ।
त्यसको जानकारी पाएपछि सभापति देउवाले शीर्ष नेताहरूसँग छलफल समेत गरेका थिए । लगत्तै पार्टीभित्रको परिस्थितिबारे छलफल गर्न देउवाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका हुन् । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरुलाई बोलाइएको छ ।
महामन्त्रीद्वयले नियमित महाधिवेशन हुन नसकेको अवस्थामा पार्टी विधानको दफा १७ (२) बमोजिम विशेष महाधिवेशनसम्बन्धी मागलाई सम्बोधन गर्नु केन्द्रीय कार्यालयको जिम्मेवारी भएको बताएका छन् ।
यसअघि कांग्रेस केन्द्रीय समितिले पुस २६ गतेदेखि १५ औं महाधिवेशन गर्ने गरी नियमित महाधिवेशनको कार्यतालिका तय गरेको थियो । त्यसअनुसार वडा र पालिका अधिवेशन हुन नसकेपछि महामन्त्रीद्वय थापा र शर्माले नियमित महाधिवेशन स्थगित गरी विशेष महाधिवेशन बोलाएका हुन् ।
