काठमाडौं । धार्मिक एवं सामाजिक विषयलाई लिएर दुई समुदायबीच तनाव बढेपछि स्थानीय प्रशासनले वीरगञ्जमा कर्फ्यू आदेश जारी गरेको छ ।
सोमबार साँझ ६ बजेदेखि मंगलबार बिहान ८ बजेसम्मका लागि वीरगञ्जका संवेदनशील क्षेत्रमा कर्फ्यू आदेश जारी भएको पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिए ।
प्रजिअ दाहालका अनुसार वीरगञ्ज महानगरपालिका क्षेत्र अन्तर्गत पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सिया पुल, उत्तरमा पावर हाउस चोक र दक्षिणमा शंकराचार्य गेटसम्म कुनै किसिमको भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाउने गरी कर्फ्यू आदेश जारी गरिएको हो ।
पत्रकारमाथि आक्रमण र महासंघको आपत्ति
प्रदर्शनको दृश्य खिचिरहेको अवस्थामा ’भोजपुरी टाइम्स दैनिक’का कार्यकारी सम्पादक श्रवण साहमाथि प्रदर्शनकारीहरूले आक्रमण गरेका छन्। उनीहरूले साहको मोबाइल समेत खोसेको नेपाल पत्रकार महासंघ पर्सा शाखाले जनाएको छ।
महासंघका सचिव विजय कुमार महतोद्वारा जारी विज्ञप्तिमा समाचार संकलनमा खटिएका पत्रकारमाथि गरिएको यस कार्यलाई प्रेस स्वतन्त्रता र नागरिकको सुसूचित हुन पाउने अधिकारको गम्भीर हनन् भनिएको छ। महासंघले दोषीलाई तत्काल कानुनी कारबाहीको दायरामा ल्याउन माग गर्दै सञ्चारकर्मीहरूलाई पनि संयमता अपनाउन अपिल गरेको छ।
