Logo

Oct 27 2026 | २०८३, कात्तिक ११गते

images

वीरगञ्ज नाकाबाट निर्यातमा ५२ प्रतिशत उछाल, छ महिनामै ४८ अर्बभन्दा बढीको व्यापार

वीरगञ्ज नाकाबाट निर्यातमा ५२ प्रतिशत उछाल, छ महिनामै ४८ अर्बभन्दा बढीको व्यापार

अर्थ प्लस
वीरगञ्ज नाकाबाट निर्यातमा ५२ प्रतिशत उछाल, छ महिनामै ४८ अर्बभन्दा बढीको व्यापार

वीरगञ्ज। चालु आर्थिक वर्षको पहिलो छ महिनामा वीरगञ्ज नाका हुँदै ४८ अर्ब १० करोड रुपैयाँ बराबरका वस्तु तथा सामान विदेशी मुलुकमा निर्यात भएका छन्। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो निर्यात ५२ प्रतिशतले वृद्धि भएको हो।

गत आवको पहिलो छ महिनामा वीरगञ्ज नाकाबाट ३१ अर्ब ६७ करोड रुपैयाँ बराबरका वस्तु निर्यात भएका थिए। यस वर्ष सोही अवधिमा निर्यात रकम १६ अर्ब ४३ करोड रुपैयाँले बढ्दै उल्लेखनीय उछाल आएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ।

भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार गत आवको तुलनामा चालु आवमा यहाँबाट हुने निर्यातमा ५२ प्रतिशतको वृद्धि देखिएको हो। उनका अनुसार औद्योगिक उत्पादन र प्रशोधित खाद्य वस्तुको निर्यात बढ्दा समग्र निर्यात व्यापारमा सकारात्मक प्रभाव परेको छ।

चालु आवको छ महिनामा सबैभन्दा बढी भटमासको प्रशोधित तेल निर्यात भएको छ। यस अवधिमा २५ अर्ब ४२ करोड रुपैयाँ बराबरको भटमास तेल विदेशी बजारमा पठाइएको भन्सार तथ्यांकमा उल्लेख छ। त्यस्तै, ३ अर्ब ४८ करोड रुपैयाँ बराबरको फलफूलको जुस र ३ अर्ब ५५ करोड रुपैयाँ मूल्यको सूर्यमुखीको प्रशोधित तेल पनि निर्यात भएका छन्।

यसैगरी २ अर्ब २५ करोड रुपैयाँ बराबरको प्रशोधित पाम तेल निर्यात भएको छ भने १ अर्ब ७८ करोड रुपैयाँ मूल्यका विभिन्न किसिमका कपडा पनि विदेश पठाइएको छ।

निर्यातमा देखिएको यो वृद्धिलाई उद्योग सञ्चालनमा आएको सुधार, कच्चा पदार्थको उपलब्धता तथा छिमेकी मुलुकको बजार मागसँग जोडेर हेरिएको छ। वीरगञ्ज नाका मुलुकको प्रमुख व्यापारिक नाका भएकाले यहाँबाट हुने निर्यात वृद्धि समग्र विदेशी व्यापार सन्तुलनका लागि पनि सकारात्मक संकेतका रूपमा लिइएको छ।

सम्बन्धित समाचार