काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता तथा झापा–५ प्रतिनिधिसभा सदस्यका उम्मेदवार बालेन शाह चुनावी प्रचारप्रसारका क्रममा तेह्रथुम पुगेका छन्। उनले म्याङ्लुङको देवीथानमा स्थानीय मतदातासँग भेटघाट गर्दै क्षेत्रका समस्या प्रत्यक्ष अनुभव गरेर बुझ्ने उद्देश्य व्यक्त गरे।
शाहले पुस्तक वा विकिपिडियाबाट मात्र होइन, स्थानीय हावापानी, माटो र मान्छे भेटेर वास्तविकता बुझ्नुपर्ने बताए। उनले भने, “तेह्रथुमका समस्या उठाउँदा आफूलाई पनि प्रत्यक्ष थाहा होस् भनेर यहाँ आएका हौँ।”
उनले रास्वपाका सभापति इन्जिनियरिङ पृष्ठभूमिका भएको उल्लेख गर्दै व्यवहारिक र स्थानीयस्तरमै सकिने कामलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए। कृषि उत्पादन राम्रो भए पनि बजार अभाव मुख्य चुनौती रहेको उनले बताए।
भेटघाट कार्यक्रममा रास्वपा तेह्रथुमका उम्मेदवार सुरेन्द्र कार्की पनि सहभागी थिए। शाहले स्थानीय समस्या नीति तथा योजनामा समेट्ने उद्देश्यले पूर्वी नेपालका विभिन्न जिल्लामा चुनावी अभियान सञ्चालन गरिरहेको जानकारी दिए। यसअघि उनले इलाम, ताप्लेजुङ र पाँचथरमा पनि प्रचारप्रसार गरेका थिए।
