Logo

Sep 10 2026 | २०८३, भदौ २५गते

images

नेपाल बार एसोसिएसनले आज दिउँसै लालटिन बालेर न्याय खोज्ने

नेपाल बार एसोसिएसनले आज दिउँसै लालटिन बालेर न्याय खोज्ने

अर्थ प्लस
नेपाल बार एसोसिएसनले आज दिउँसै लालटिन बालेर न्याय खोज्ने

काठमाडौं । नेपाल बार एसोसिएसनले सर्वोच्च अदालत प्रशासनले रिट र निवेदनहरू दर्ता गर्न अस्वीकार गरेको विरोधमा आज न्यायको खोजीका लागि दिउँसै लालटिन बाल्ने निर्णय गरेको छ ।

सोमबार कामु प्रधानन्यायाधीश सपना मल्ल प्रधानलाई भेटेपछि बसेको बार बैठकले सर्वोच्च प्रशासनबाट ‘अनपेक्षित क्रियाकलाप र हर्कत’ भएको ठहर गरेको छ । बार महासचिव केदार कोइरालाका अनुसार बार परिसरमा कानुन व्यवसायीको विरोधसहित न्याय, विवेक र स्वच्छ प्रक्रियाको खोजी गर्ने निर्णय भएको हो ।

सर्वोच्च अदालतसमक्ष पर्न आएका रिट निवेदन र निवेदनहरू दर्ता नगरी सर्वोच्च अदालत प्रशासनबाटै दरपीठ गरी फर्काएका कारण न्यायमार्गमा अवरोध भएको बारको ठहर छ ।

संविधानको धारा १३६, न्याय प्रशासन ऐन, २०७३ को दफा ३५ र सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ७ र ८ को प्रयोग गरी कामु प्रधान न्यायाधीशबाट दरपीठ उपरको निवेदन निष्कर्षका निमित्त दर्ता गर्न आदेश दिए पनि प्रशासनले अवज्ञा गरेको जानकारीमा आएको बारले जनाएको छ ।

यस्तै सोही विषयमा समेत सोमबार प्रतिनिधिसभामा कतिपय सदस्यहरूले गरेको टिप्पणीमा समेत बारले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बारको निर्णयमा भनिएको छ, ‘‘मिति २०८३ जेठ ५ गते दिनको १ः१५ बजे नेबाए प्रांगणमा लालटीन बाली अदालतको प्रशासनको उपरोक्तानुसारको अनपेक्षित क्रियाकलाप र हर्कतको विरोधसहित न्याय, विवेक र स्वच्छ प्रक्रियाको खोजी गरिनेछ ।”

बारले दरपीठ उपरको निवेदन विनाकारण दर्ता नगरी राख्ने विषय प्रशासनको अधिकार बाहिर न्याय मार्गमा अवरोध पुर्‍याउने कार्य रहेको ठहर गरेको छ ।

बारले न्याय प्रशासनको अन्तिम जिम्मेवारी बहन गर्ने कामु प्रधान न्यायाधीशको आदेश समेत पालन नगर्ने प्रशासनको रवैयालाई ‘असाधारण र अप्राकृतिक’ भनेको छ । उक्त विषय अभिलेखीकरण हुने, विस्मृतीमा नजाने ऐतिहासिक भूल एवं  प्रचलित कानुन आकर्षित हुने घटनासमेत रहेको बारको निर्णयमा उल्लेख छ । 

सम्बन्धित समाचार