Logo

Sep 10 2026 | २०८३, भदौ २५गते

images

दोस्रो राष्ट्रिय आर्थिक गणनामा देशभरका १३ लाख ५१ हजार १६७ समेटिए

दोस्रो राष्ट्रिय आर्थिक गणनामा देशभरका १३ लाख ५१ हजार १६७ समेटिए

अर्थ प्लस
दोस्रो राष्ट्रिय आर्थिक गणनामा देशभरका १३ लाख ५१ हजार १६७ समेटिए

काठमाडौं । नेपालको आर्थिक संरचना र प्रतिष्ठानहरूको संख्यामा विगत सात वर्षमा ह्वात्तै बढेको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सञ्चालन गरेको दोस्रो राष्ट्रिय आर्थिक गणना २०८२ को पछिल्लो प्रगति विवरणअनुसार, हालसम्म देशभरका १३ लाख ५१ हजार १६७ वटा आर्थिक प्रतिष्ठानहरूको तथ्यांक संकलन भइसकेको जानकारी दिएको छ । कार्यालयले गत वैशाख २ देखि असार ७ गतेसम्म देशव्यापी गणना गरेको हो ।

यो संख्या वि.सं. २०७५ मा गरिएको पहिलो आर्थिक गणनाको तुलनामा करिब चार लाख २७ हजारले बढी हो । पहिलो गणनामा जम्मा ९ लाख २३ हजार ३५६ प्रतिष्ठान दर्ता भएका थिए । यसले नेपालको उद्योग, व्यापार र सेवा क्षेत्रको दायरा तीव्र रूपमा विस्तार भइरहेको स्पष्ट पार्दछ ।

यस गणनाको मुख्य उद्देश्य देशको आर्थिक अवस्थाको यथार्थ चित्र उतार्नु रहेको छ । कार्यालयका अनुसार, यसबाट प्राप्त हुने विस्तृत तथ्यांकले कुल गार्हस्थ उत्पादन (जीडीपी)को गणनालाई थप सुदृढ बनाउन र राष्ट्रिय लेखाको आधार वर्ष परिवर्तन गर्न मद्दत गर्नेछ । सरकारले आगामी दिनमा तय गर्ने अल्पकालीन तथा दीर्घकालीन आर्थिक योजना, लगानी प्रवर्द्धन र रोजगारी सिर्जनाका लागि यो तथ्यांक आधारभूत दस्ताबेज हुने अपेक्षा गरिएको छ ।

यसपटकको गणनामा परम्परागत कागजी प्रश्नावलीका साथै आधुनिक प्रविधिको पनि प्रयोग गरिएको छ । कुलमध्ये ६ हजार ६६७ प्रतिष्ठानहरूले इ–सेन्सस (अनलाइन) मार्फत आफ्ना विवरण उपलब्ध गराएका छन् । यो गणना कार्यलाई सफल बनाउन देशभर तीन हजार ९०७ गणक, ५२६ सुपरिवेक्षक र ५०४ जिल्लास्तरका व्यवस्थापन कर्मचारीहरू परिचालन गरिएको थियो ।

छुटेकाहरूका लागि असार मसान्तसम्मको समय 
तथ्यांक कार्यालयका अनुसार, स्थलगत कार्यमा खटिएका गणक र सुपरिवेक्षकहरूको करार अवधि असार ८ मा सकिए पनि गणनाको ढोका पूर्ण रूपमा बन्द भइसकेको छैन । विवरण भर्न छुटेका वा आंशिक विवरण मात्र बुझाएका प्रतिष्ठानहरूले असार मसान्तसम्म जिल्ला आर्थिक गणना कार्यालयमा सम्पर्क गरी आफ्नो विवरण समावेश गराउन सक्नेछन् ।

यसका लागि कार्यालयले टोल फ्री नम्बर ११७८ मार्फत पनि समन्वय गरिरहेको छ । संकलित तथ्यांकको प्रशोधन र इन्ट्री कार्य आगामी चार महिनाभित्र सम्पन्न गरी ६ महिनाभित्र अन्तिम नतिजाहरू सार्वजनिक गर्ने कार्यालयको कार्ययोजना रहेको छ ।

सम्बन्धित समाचार