काठमाडौँ / एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो डिजिटल बैंकिङ सेवाको विस्तार गर्दै नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) मार्फत नेपालपे कार्ड अक्वायरिङ सेवा सुरु गरेको छ।
बैंकका अनुसार अब नेपालपे कार्डधारकले एनआईसी एशिया बैंकका एटीएम तथा पीओएस टर्मिनलमार्फत सहज रूपमा सेवा लिन सक्नेछन्। साथै, डिस्कभर नेटवर्कअन्तर्गतका रुपे कार्डसहित अन्य अन्तर्राष्ट्रिय कार्डहरू पनि बैंकका एटीएम र पीओएस टर्मिनलमा प्रयोग गर्न सकिने भएको छ।
बैंकले यस सेवाले राष्ट्रिय कार्ड प्रणालीको प्रवर्द्धन गर्नुका साथै नेपालमा डिजिटल भुक्तानी प्रणालीको विस्तार र डिजिटल रूपान्तरणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।
नेपालपे कार्ड राष्ट्रिय भुक्तानी स्विचअन्तर्गत सञ्चालनमा रहेको राष्ट्रिय कार्ड स्किम हो। यो कार्ड नेपालभित्र राष्ट्रिय भुक्तानी स्विचमार्फत तथा विदेशमा डिस्कभर नेटवर्कमार्फत प्रयोग गर्न सकिन्छ। यससँगै नेपालपे कार्डधारकले नेपाल र विदेशका एटीएम तथा पीओएस टर्मिनलमा समेत सेवा लिन सक्नेछन् भने अन्तर्राष्ट्रिय डिस्कभर कार्ड र डिस्कभर पार्टनर कार्डहरू पनि नेपालमा प्रयोग गर्न सकिने व्यवस्था भएको छ।
हालसम्म नेपालपे कार्ड प्रणालीमा ३६ भन्दा बढी बैंक तथा वित्तीय संस्था आबद्ध भइसकेका छन्। तीमध्ये सात बैंक तथा वित्तीय संस्थाले नेपालपे कार्ड जारी (इस्यु) गरिसकेका छन् भने ११ वटा संस्थाले अक्वायरिङ सेवा सञ्चालन गरिरहेका छन्। आगामी दिनमा यसको दायरा थप विस्तार हुने अपेक्षा गरिएको छ।
एनआईसी एशिया बैंकले हाल देशभर ३१६ शाखा, १०३ विस्तारित काउन्टर, ३३ शाखारहित बैंकिङ सेवा तथा ६०४ एटीएममार्फत लाखौं ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ। बैंकले पछिल्ला वर्षहरूमा डिजिटल बैंकिङ र ग्राहक सेवाको आधुनिकीकरणलाई प्राथमिकताका साथ अघि बढाउँदै आएको जनाएको छ।
