Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

एनएमबि बैंकको नाफामा ४० प्रतिशतको छलाङ, प्रतिशेयर आम्दानी कति ?

एनएमबि बैंकको नाफामा ४० प्रतिशतको छलाङ, प्रतिशेयर आम्दानी कति ?

अर्थ प्लस
एनएमबि बैंकको नाफामा ४० प्रतिशतको छलाङ, प्रतिशेयर आम्दानी कति ?

काठमाडाैँ / एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै खुद नाफामा उल्लेख्य सुधार गरेको जनाएको छ। बैंकले पहिलोपटक वार्षिक खुद नाफा ४ अर्ब रुपैयाँभन्दा माथि पुर्‍याउँदै ऐतिहासिक उपलब्धि हासिल गरेको हो।

सार्वजनिक विवरणअनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको २ अर्ब ८५ करोड ४६ लाख ३८ हजार रुपैयाँबाट ४०.६० प्रतिशतले वृद्धि भएर ४ अर्ब १ करोड ३६ लाख ७१ हजार रुपैयाँ पुगेको छ।

बैंकको नाफा वृद्धिमा खुद ब्याज आम्दानी, सञ्चालन आम्दानी तथा शुल्क एवं कमिसन आम्दानीमा भएको सुधारले प्रमुख भूमिका खेलेको छ। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १७.५२ प्रतिशतले वृद्धि भएर ९ अर्ब ४२ करोड ६२ लाख रुपैयाँ पुगेको छ। प्रभावकारी सम्पत्ति तथा दायित्व व्यवस्थापनका कारण खुद ब्याज आम्दानीमा उल्लेख्य वृद्धि भएको बैंकले जनाएको छ।

त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी १९.६६ प्रतिशतले बढेको छ भने सञ्चालन मुनाफा २९.०६ प्रतिशतले सुधार भएको छ। डिजिटल तथा ट्रान्ज्याक्सन बैंकिङ सेवाको विस्तारसँगै शुल्क तथा कमिसन आम्दानी १६.६ प्रतिशतले वृद्धि भएर २ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ।

ट्रेजरी तथा वैदेशिक मुद्रा कारोबारमा सुधार आउँदा बैंकको खुद ट्रेडिङ आम्दानी पनि उल्लेख्य रूपमा बढेको छ। विवरणअनुसार ट्रेडिङ आम्दानी ८९ प्रतिशतले वृद्धि भई ६८ करोड १४ लाख २० हजार रुपैयाँ पुगेको छ।

बैंकले वितरणयोग्य नाफातर्फ पनि १ अर्ब ८७ करोड रुपैयाँ रहेको जनाएको छ भने प्रति शेयर वितरणयोग्य नाफा ९.०८ प्रतिशत कायम भएको उल्लेख गरेको छ। यद्यपि सार्वजनिक अपरिष्कृत वित्तीय विवरणअनुसार वितरणयोग्य मुनाफा अघिल्लो वर्षको तुलनामा ७.९१ प्रतिशतले घटेर १ अर्ब ७५ करोड ९ लाख रुपैयाँ कायम भएको देखिएको छ।

बैंकको प्रतिशेयर आम्दानी (इपिएस) ५.३८ रुपैयाँले बढेर २०.१८ रुपैयाँ पुगेको छ। प्रतिशेयर नेटवर्थ १८१.१५ रुपैयाँ रहेको छ भने मूल्य–आम्दानी अनुपात (पीइ रेसियाे) ११.८७ गुणा कायम भएको छ।

प्रतिफल सूचकहरूमा पनि सुधार देखिएको छ। बैंकको पुँजी प्रतिफल ११.५८ प्रतिशत तथा सम्पत्ति प्रतिफल १.०४ प्रतिशत पुगेको छ।

यद्यपि नाफामा उल्लेख्य सुधार भए पनि बैंकको खराब कर्जा भने बढेको छ। अघिल्लो वर्ष ४.११ प्रतिशत रहेको खराब कर्जा बढेर ४.९१ प्रतिशत पुगेको छ, जसले सम्पत्ति गुणस्तरमा केही दबाब देखिएको संकेत गर्दछ।

बैंकको आधार दर भने ६.२२ प्रतिशतबाट घटेर ५.११ प्रतिशतमा झरेको छ। आधार दर घटेसँगै बैंकबाट प्रवाह हुने कर्जाको ब्याजदर तुलनात्मक रूपमा सस्तो हुने संकेत देखिएको छ।

व्यवसाय विस्तारतर्फ पनि बैंकले सकारात्मक वृद्धि हासिल गरेको छ। समीक्षा अवधिमा निक्षेप १२.१७ प्रतिशतले बढेर ३ खर्ब १५ अर्ब ११ करोड ८४ लाख रुपैयाँ पुगेको छ। त्यसैगरी कर्जा प्रवाह ९.३३ प्रतिशतले वृद्धि भएर २ खर्ब ४९ अर्ब ७५ करोड ९९ लाख रुपैयाँ पुगेको छ।

समग्रमा आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म एनएमबि बैंकले नाफा, ब्याज आम्दानी, सञ्चालन आम्दानी, डिजिटल कारोबार, निक्षेप तथा कर्जा विस्तारलगायत अधिकांश वित्तीय सूचकमा उल्लेखनीय सुधार हासिल गरेको देखिन्छ। यद्यपि खराब कर्जामा आएको वृद्धि बैंकका लागि आगामी दिनमा व्यवस्थापन गर्नुपर्ने प्रमुख चुनौतीका रूपमा देखिएको छ।

NMB noe.JPG

सम्बन्धित समाचार