काठमाडौं । अविरल वर्षा, पहिरो तथा सडक कटानका कारण देशका मुख्य राजमार्गसहित विभिन्न सडकखण्डमा सवारी आवागमन प्रभावित भएको छ।
प्रहरीका अनुसार तेह्रथुमस्थित मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । शनिबार राति १२ बजेतिर तेह्रथुमको लालीगुँरास नगरपालिका- ९ काडेस्थित पिङवा खोलानजिक मध्यपहाडी लोकमार्गमा करिब ३०-३५ मिटर माथिबाट ढुंगा र माटोको पहिरो झरी सडक पूर्ण रूपमा अवरुद्ध भएको हो ।
त्यस्तै, सिन्धुपाल्चोकमा अरिनको राजमार्गमा अवरोध भएको छ । शनिबार चौतारा साँगागढी-९ डुम्रेस्थित अरिनको राजमार्गमा सडक खण्डमा माथिबाट लेदोसहितको पहिरो आई बाटो अवरोध भएको हो ।
प्रहरीका अनुसार गत असार २३ गतेदेखि इलामको इलाम नगरपालिका- ९ मा वर्षाका कारण हिलो भइ मेची राजमार्गमा सवारीसाधन आवतजावत गर्न नसक्ने भएकोले उक्त सडक अवरुद्ध भएको छ । उक्त स्थानमा वैकल्पिक बाटो रहेको प्रहरीले जानकारी दिएको छ ।
त्यस्तै, असार ३१ गते भोटेकोसी-४, जिरोकिलोमा अरनिको राजमार्गमा सडक माथिबाट पहिरो खसी बाटो पूर्ण रूपमा अवरुद्ध भएको छ ।
त्यस्तै साउन १ गते भोटेकोसी-२ कोदारीस्थित अरनिको राजमार्गमा ईकु पहिरोबाट सडक माथिबाट ढुङ्गा माटो सहितको लेदो खसी पूर्ण रूपमा अवरुद्ध भएको छ । प्रहरीका अनुसार साउन १९ गते भोटेकोसी-२ लिपिङस्थित अरनिको राजमार्गमा सडक भासिई बाटो पूर्ण रूपमा अवरुद्ध भएको छ ।
त्यस्तै साउन ८ गते रसुवाको उत्तरगया-५ खाल्टेस्थित त्रिशुली मैलुङ स्याफ्रुबेशी जाने कच्ची सडक खण्डमा त्रिशुली नदीले सडक मुनीबाट कटान गरी पूर्ण रूपमा अवरुद्ध भएको छ ।
साउन ६ गते रुकुम पश्चिम आठबिसकोट-६ रिजेगार्ड खोलास्थित भेरी करिडोर जाजरकोट-डोल्पा सडक खण्डमा माथिबाट ढुंगा माटोसहितको लेदो आई पूर्ण रूपमा अवरुद्ध भएको छ ।
