Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

नाइमा एक्स्पोमा दुई दिनमै भित्रिए ५५ हजार अवलोकनकर्ता, बुकिङमा पनि उत्साह

नाइमा एक्स्पोमा दुई दिनमै भित्रिए ५५ हजार अवलोकनकर्ता, बुकिङमा पनि उत्साह

अर्थ प्लस
नाइमा एक्स्पोमा दुई दिनमै भित्रिए ५५ हजार अवलोकनकर्ता, बुकिङमा पनि उत्साह

काठमाडौँ / भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा अवलोकनकर्ताको उल्लेख्य सहभागिता देखिएको छ । एक्स्पोको दुई दिनमै ५५ हजारभन्दा बढीले अवलोकन गरेका छन् ।

नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) का अनुसार उद्घाटनको पहिलो दिन २९ हजारभन्दा बढी र दोस्रो दिन २६ हजारभन्दा बढीले एक्स्पो अवलोकन गरेका हुन् । एक्स्पो अवधिभर करिब डेढ लाख अवलोकनकर्ता आउने अपेक्षा गरिएको छ ।

एक्स्पोमा पुगेका अवलोकनकर्ताले विभिन्न ब्रान्डका कार तथा मोटरसाइकलमा रुचि देखाउँदै बुकिङसमेत गरिरहेका छन् । महँगा तथा सस्ता दुवै सेग्मेन्टका सवारीसाधनप्रति ग्राहकको आकर्षण देखिएको आयोजकले जनाएको छ ।

अवलोकनकर्ताले विशेषगरी विद्युतीय सवारीसाधनको ब्याट्री क्षमता, मोटर, ड्राइभिङ रेन्ज, चार्जिङ सुविधा तथा आफ्टर–सेल्स सर्भिसबारे चासो राखिरहेका छन् । ग्राहक आकर्षित गर्न विभिन्न कम्पनीले मूल्यमा छुट, निःशुल्क बिमा, एक वर्षको सवारी कर, फ्रि सर्भिसिङ तथा सहुलियत ब्याजदरमा कर्जालगायत अफर सार्वजनिक गरेका छन् ।

एक्स्पोको दोस्रो दिन विभिन्न ब्रान्डका चार नयाँ मोडल सार्वजनिक भएका छन् । पहिलो दिन मंगलबार मात्रै ४८ नयाँ मोडलका सवारीसाधन सार्वजनिक भएका थिए ।

यसैबीच, एक्स्पोअन्तर्गत ‘मोबिलिटी ः हिजो, आज र भोलि’ विषयमा मोबिलिटी संवादसमेत आयोजना गरिएको छ । संवादमा प्रतिनिधिसभा सदस्य एवं पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेल, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख एसएसपी सुरेशप्रसाद काफ्ले, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौला, पूर्वाधार विकास मन्त्रालयका विज्ञ सल्लाहकार अनुकूल निधि तथा नाइमा अटोमोबाइल एसोसिएसनका पूर्वअध्यक्ष ध्रुवबहादुर थापालगायत सहभागी थिए । संवादमा ३०० भन्दा बढीको सहभागिता रहेको थियो ।

दोस्रो संस्करणको नाइमा नेपाल मोबिलिटी एक्स्पो साउन ३१ गतेसम्म सञ्चालन हुनेछ । दिगो, हरित तथा प्रविधिमैत्री यातायात प्रणालीलाई प्रवर्धन गर्ने उद्देश्यले आयोजना गरिएको एक्स्पोमा स्वदेशी तथा बहुराष्ट्रिय सवारीसाधन निर्माता र आयातकर्ताको सहभागिता रहेको छ ।

एक्स्पोको मुख्य आकर्षणमा नेपालमा पहिलोपटक प्रवेश गरेका ब्रान्ड, नयाँ विद्युतीय कार, ई–स्कुटर तथा विद्युतीय व्यावसायिक सवारीसाधन रहेका छन् । बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीहरूले समेत सवारी खरिदका लागि विशेष अफर तथा सहुलियत कर्जा उपलब्ध गराइरहेका छन् ।

सम्बन्धित समाचार