Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

एग्री केयर नेपालले आइपिओ निष्काशन गर्ने, नेपाल लाइफ क्यापिटल संस्थागत परामर्शकर्ता

एग्री केयर नेपालले आइपिओ निष्काशन गर्ने, नेपाल लाइफ क्यापिटल संस्थागत परामर्शकर्ता

अर्थ प्लस
एग्री केयर नेपालले आइपिओ निष्काशन गर्ने, नेपाल लाइफ क्यापिटल संस्थागत परामर्शकर्ता

काठमाडौँ / कृषि क्षेत्रमा लामो समयदेखि सक्रिय एग्री केयर नेपाल लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर निष्काशन (आइपिओ) गर्ने तयारी अघि बढाएको छ । 

कम्पनीले आइपिओ निष्काशन तथा पूँजी संरचना सुदृढीकरणका लागि नेपाल लाइफ क्यापिटल लिमिटेडलाई संस्थागत परामर्शकर्ता नियुक्त गरेको छ ।

एग्री केयर नेपाल र नेपाल लाइफ क्यापिटलबीच शुक्रबार श्रावण २९ गते भरतपुर–४, चितवनस्थित एग्री केयर नेपालको कार्यालयमा ‘Corporate Advisory Services’ सम्बन्धी सम्झौता भएको हो । 

सम्झौतामा एग्री केयर नेपालका अध्यक्ष रबिन अधिकारी र नेपाल लाइफ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत मनिष घिमिरेले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार नेपाल लाइफ क्यापिटलले एग्री केयर नेपाललाई सर्वसाधारणमा जाने तयारीअन्तर्गत आईपीओ परामर्श, पूँजी पुनर्संरचना, कम्पनीको वित्तीय तथा कानुनी अवस्थाको अध्ययन र मूल्यांकनलगायतका सेवा उपलब्ध गराउनेछ ।

त्यस्तै, कम्पनीको पूँजी संरचना तथा सम्भावित आईपीओको आकार निर्धारण, आवश्यक संरचनागत सुधार र नियामकीय प्रक्रियामा आवश्यक समन्वयसमेत क्यापिटलले गर्नेछ ।

सन् २००४ मा स्थापना भएको एग्री केयर नेपालले प्लान्ट न्युट्रिसन, ट्रेस एलिमेन्ट्स तथा गुणस्तरीय कृषि सामग्रीबाट व्यवसाय सुरु गरेको हो । सन् २००९ मा बायो–टेक्नोलोजी युनिट सञ्चालनमा ल्याउँदै कम्पनीले जैविक विषादी तथा लाभदायी सूक्ष्मजीवमा आधारित उत्पादनतर्फ समेत विस्तार गरेको थियो ।

हाल कम्पनीले क्रप प्रोटेक्सन, प्लान्ट न्युट्रिसन, फर्टिलाइजर, सोल कन्डिसनर तथा बायो–इनपुट्समार्फत किसानलाई सेवा दिँदै आएको जनाएको छ । विज्ञानमा आधारित कृषि समाधानमार्फत किसानको उत्पादकत्व र बालीको गुणस्तर वृद्धि, माटोको दीर्घकालीन स्वास्थ्य तथा दिगो कृषि अभ्यासलाई कम्पनीले प्राथमिकता दिँदै आएको छ ।

किसानलाई कृषि प्रविधि तथा उत्पादनसम्बन्धी जानकारी उपलब्ध गराउन कम्पनीले विभिन्न प्रशिक्षण कार्यक्रम र ‘किसान कल सेन्टर’ जस्ता पहलसमेत सञ्चालन गर्दै आएको जनाएको छ ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सहायक कम्पनी नेपाल लाइफ क्यापिटलले धितोपत्र बोर्डबाट लगानी व्यवस्थापन, धितोपत्र प्रत्याभूति, निक्षेप सदस्य, योजना व्यवस्थापक, डिपोजिटरी सेवा, संस्थागत परामर्श, शेयर रजिष्ट्रेशन तथा निष्काशन तथा बिक्री प्रबन्धसम्बन्धी अनुमति प्राप्त गरेको छ ।

एग्री केयर नेपालले पूँजी बजारमा प्रवेशको तयारीलाई व्यवस्थित गर्दै आगामी दिनमा सर्वसाधारणलाई समेत कम्पनीको विकास यात्रामा सहभागी गराउने लक्ष्य लिएको जनाएको छ ।

सम्बन्धित समाचार