Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

सरकारले प्रतिवेदन सार्वजनिक गरेपछि एनसेल असन्तुष्ट, विदेशी लगानीको वातावरण बिग्रिने चेतावनी

सरकारले प्रतिवेदन सार्वजनिक गरेपछि एनसेल असन्तुष्ट, विदेशी लगानीको वातावरण बिग्रिने चेतावनी

अर्थ प्लस
सरकारले प्रतिवेदन सार्वजनिक गरेपछि एनसेल असन्तुष्ट, विदेशी लगानीको वातावरण बिग्रिने चेतावनी

काठमाडौँ / एनसेलले आफ्नो शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णयले लगानीकर्ताको गोपनीयता र व्यावसायिक सूचनाको सुरक्षामाथि प्रश्न उठेको जनाएको छ । 

कम्पनीले प्रतिवेदन सार्वजनिक गर्ने निर्णयले नेपालमा लगानी सुरक्षाको प्रत्याभूतिमाथि अन्तर्राष्ट्रिय लगानीकर्ताको धारणा प्रभावित हुन सक्ने दाबी गरेको छ ।

कम्पनीले बिहीबार विज्ञप्ति जारी गर्दै मन्त्रिपरिषद्ले २०८३ साउन २६ गते गरेको भनिएको निर्णयका आधारमा ‘एनसेलको शेयर खरिद–बिक्री सम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदन, २०८०’ सार्वजनिक गरिएको विषयमा आपत्ति जनाएको हो ।

एनसेलका अनुसार छानबिनका क्रममा सरकारका लागि संकलन गरिएका संवेदनशील सूचना अनुसन्धान, थप छानबिन वा अभियोजनका क्रममा प्रयोग गर्न सकिने भए पनि त्यस्ता विवरण सर्वसाधारणको पहुँचमा पुर्‍याउन नमिल्ने कानुनी व्यवस्था छ । 

कम्पनीले सुशासन, पारदर्शिता र सूचनाको अधिकारको नाममा कानुनले संरक्षण गरेका विवरणसमेत सार्वजनिक गरिएको दाबी गरेको छ ।

कम्पनीले नेपालको संविधानको धारा २८ ले सुनिश्चित गरेको गोपनीयताको हक, वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ तथा करसम्बन्धी कानुनले संरक्षण गरेका अधिकार प्रभावित भएको जनाएको छ । 

प्रतिवेदनमा शेयरधनी, सञ्चालक तथा हिताधिकारीसँग सम्बन्धित सम्पत्ति, लिखत, तथ्यांक, कारोबार, पत्राचार र विद्युतीय माध्यमका सूचनासमेत रहेको भन्दै एनसेलले त्यस्ता विवरणको गोपनीयता कायम गर्नुपर्ने तर्क गरेको छ ।

अदालतको फैसलाविपरीत निर्णय ! 

एनसेलले प्रतिवेदन सार्वजनिक गर्नुपर्ने मागसहित परेको रिट उच्च अदालतबाट २०८३ असार ३१ गते खारेज भएको र उक्त फैसला अन्तिम भइसकेको दाबी गरेको छ । अदालतको फैसला कायम रहेकै अवस्थामा सरकारले प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको भन्दै कम्पनीले त्यसप्रति असन्तुष्टि जनाएको हो ।

कम्पनीले सरकारको कदमलाई न्यायिक मर्यादा तथा अदालतको फैसला पालना गर्नुपर्ने संवैधानिक र कानुनी दायित्वसँग जोडेको छ । अदालतबाट गोपनीय ठहर भएको प्रतिवेदन सार्वजनिक गर्नु दुर्भाग्यपूर्ण भएको एनसेलको भनाइ छ ।

कानुनी उपचार खोज्ने संकेत

एनसेलले सरकारको निर्णयविरुद्ध राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुन र सन्धि–सम्झौताअनुसार उपलब्ध कानुनी उपचार खोज्ने अधिकार सुरक्षित राखेको जनाएको छ ।

वैयक्तिक गोपनीयतासम्बन्धी ऐनले गोपनीयता भंग भएमा दोषीलाई सजाय तथा पीडितलाई क्षतिपूर्तिको व्यवस्था गरेको उल्लेख गर्दै कम्पनीले आवश्यक कानुनी कदम चाल्ने संकेत गरेको छ । 

प्रतिवेदन सार्वजनिक हुँदा आफू तथा आफू सम्बद्ध पक्षका गोप्य सूचनाको संरक्षणमा अपूरणीय क्षति पुगेको कम्पनीको दाबी छ ।

विदेशी लगानीमा असर पर्ने 

एनसेलले सरकारको पछिल्लो निर्णयलाई आफ्नो कम्पनीसँग मात्र सम्बन्धित विषय नभई नेपालमा लगानी सुरक्षाको विश्वसनीयतासँग जोडेको छ ।

 विदेशी लगानीकर्ताले लगानी गर्ने मुलुकमा कानुनी संरक्षण, व्यावसायिक स्वतन्त्रता र सूचनाको गोपनीयतालाई महत्वपूर्ण आधारका रूपमा हेर्ने भएकाले पछिल्लो घटनाले नेपालको लगानी वातावरणबारे नकारात्मक सन्देश जान सक्ने कम्पनीको भनाइ छ ।

नेपालले विदेशी लगानी आकर्षित गर्न नीतिगत सुधार तथा लगानी सहजीकरणका प्रयास गरिरहेका बेला व्यावसायिक गोपनीयतासम्बन्धी विवाद उत्पन्न हुनु सकारात्मक नभएको एनसेलले जनाएको छ ।

कम्पनीले सरकारको निर्णयले तत्काल एनसेललाई परेको क्षतिभन्दा पनि दीर्घकालमा नेपालको लगानी वातावरणमा असर पर्न सक्ने चेतावनी दिएको छ । 

लगानीकर्ताको विश्वास कमजोर भए नयाँ विदेशी लगानी भित्र्याउन कठिन हुने र त्यसको असर रोजगारी सिर्जना, व्यवसाय विस्तार तथा समग्र आर्थिक गतिविधिमा पर्न सक्ने एनसेलको दाबी छ ।

सम्बन्धित समाचार